पहिरोले गल्छी–रसुवागढी सडक अवरुद्ध

देवीघाटबाट महादेवफाँट हुँदै गल्छी आवतजावत गर्ने सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। आसपासमा वैकल्पिक सडक नहुँदा यातायातका साधन आवातजावत गर्न समस्या भएको छ।

त्रिशूली– ढुंगासहित खसेको पहिरोका कारण गल्छी–रसुवागढी सडकमा यातायात सञ्चालन बन्द भएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख जेजङ कार्कीका अनुसार बेलकोटगढी नगरपालिका–८ स्थित ठूलोखोला नजिक सडकमा खसेको ठूलो ढुंगासहितको पहिरोले ‘डेडिकेटेड डबल लेन’को सडक पूर्ण रूपमा बन्द भएको छ। 

देवीघाटबाट महादेवफाँट हुँदै गल्छी आवतजावत गर्ने सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। सोही रुटको आसपासमा वैकल्पिक सडक नभएको हुँदा यातायातका साधन आवातजावत गर्न समस्या भएको छ।

धादिङको गल्छीबाट नुवाकोटको त्रिशूली तथा रसुवागढी हुँदै केरुङ जानुपर्ने सवारीसाधन गल्छीबाट काठमाडौँ नै पुगेर टोखा–छहरे सडक प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ। 

बुधबार राति खसेको पहिरोसँगैको ठूलो ढुंगा हटाउन ‘ब्रेकर’ लगाउनुपर्ने भएकाले सडक सञ्चालन गर्न समय लाग्ने सडक योजना कार्यालयका प्रमुख धुव्रकुमार श्रेष्ठले जानकारी दिए। पहिरो पन्छाउन बिहीबार बिहानदेखि भारी उपकरणसहितको जनशक्ति परिचालन गरिएको उनले बताए।