डुबानको समस्याले कैलारी गाउँपालिका, भजनी, घोडाघोडी र गौरीगंगा नगरपालिका क्षेत्र बढी प्रभावित भएको छ।
सुदूरपश्चिम– दुई दिनदेखिको वर्षासँगै नदी तथा खोलामा आएको बाढी बस्तीमा पसेपछि कैलालीमा ५०० घर डुबानमा परेका छन्।
यसबाट झन्डै एक हजार ७०० नागरिक प्रभावित भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए। डुबानको समस्याले कैलारी गाउँपालिका, भजनी, घोडाघोडी र गौरीगंगा नगरपालिका क्षेत्र बढी प्रभावित भएको छ। डुबानको जोखिम अझै रहेकाले सुरक्षित स्थानमा सर्न जिल्ला प्रशासन कार्यालये सूचना जारी गरेको छ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी बलबाट स्थानीयको सहयोगमा उद्धार कार्य भइरहेको छ। कटैनी, शिवगंगा, कान्द्रा, पथरैया, खुटिया, मोहनालगायत नदीमा बढेको पानीको बहाव बस्तीमा पसेपछि आसपासको बस्तीमा डुबानको समस्या भएको हो। डुबानबाट बढी प्रभावित कैलारी गाउँपालिका–५ को मनिकापुरका कतिपय घरपरिवारको खाद्यान्न लत्ताकपडालगायत समान भुइँतलाबाट माथिल्लो तल्लामा राखेर भिज्नबाट जोगाइएको छ। डुबान भएपछि आफ्नै घरको छत र छानामा बसेर नसुतेरै धेरैले रात बिताएका छन्। डुबानले धेरै परिवारको घरभित्र पानी पस्दा खाद्यान्नसहितको धनमाल भिजेर क्षति पुगेको छ।
घोडाघोडी नगरपालिका–९ मा शिवगंगा नदीको बहाव बस्तीमा पसेपछि भएको डुबानले महादेवा, कम्दा, भगवानपुर, शंकरपुरलगायत क्षेत्र डुबानमा परेका छन्। पूर्वपश्चिम हुलाकी राजमार्गको कैलारी सडक खण्ड बस्तीको भूभागभन्दा अग्लो निर्माण गरिएको कारण पानी थुनिएर आसपासको बस्ती डुबानमा परेको स्थानीयले बताएका छन्। “पानीको निकास हुन पाउनेगरी हुलाकी सडक निर्माण गर्नुपर्नेमा त्यसो नगरिएकाले बर्सेनि डुबानको समस्या झेल्नु परेको छ,” स्थानीय ठाकुर चौधरीले भने, “पानीको निकास गरेर मात्र विकास गर्नुपर्यो।”
गाउँपालिकाका सूचना अधिकारी यगम कलेलले डुबानबाट प्रभावित हुनेहरूको वडाका जनप्रतिनिधि, गाउँपालिकाका कर्मचारी, प्रहरी लगाएको टोली उद्धार राहतमा जुटिरहेको बताए। गाउँपालिकामा उपलब्ध साधन स्रोतका आधारमा डुबान, कटानको समस्या समाधान गर्न नसकिने भएकाले संघ र प्रदेश सरकारले नदी तटबन्धजस्ता ठूला योजना ल्याउन जरुरी भइसकेको उनको भनाइ छ।
अविरल वर्षाले धनगढी उपमहानगरपालिका क्षेत्र जलमग्न भएको छ। सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानीसमेत रहेको धनगढीमा प्रदेश सरकारका कतिपय मन्त्रालयलगायत सरकारी कार्यालय र सडकमा पानी जमेपछि आवागमन असहज बनेको छ। दुई दिनदेखिको वर्षासँगै कैलालीको मोहना, खुटिया, पथरैया, मुढा, गोरीगंगा, कान्द्रा, शिवगंगा र काँडालगायत नदी र खोलामा पानीको बहाव बढेको छ। डुबानका कारण विस्थापित स्थानीयवासीका लागि कैलाली जिल्लाको पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गतको केही ठाउँको सडक सुरक्षित ‘सेल्टर’ (बासस्थान) बन्दा कतिपय ठाउँको सडक भने डुबान हुने कारक पनि बनेको देखिएको स्थानीयको भनाइ छ।
जिल्लाको दक्षिणी क्षेत्रको होचो भूभाग हुँदै निर्माण गरिएको यो राजमार्ग बस्तीभन्दा अग्लो भएपछि डुबानको समयमा विस्थापित हुने स्थानीयवासी यसै राजमार्गमा त्रिपाल टहरा बनाएर बस्ने गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
