उपसमितिले थाल्यो नेपालगन्ज रंगशालाको ‘सेन्थेटिक ट्र्याक’बारे छानबिन

नेपालगन्ज रंगशालामा निर्माण गरेको एक महिना नबित्दै ‘सेन्थेटिक ट्र्याक’ उप्किएको विषयमा अध्ययन गर्न गठित उपसमितिले काम थालेको छ।

बाँके– नेपालगन्ज रंगशालामा निर्माण गरिएको ‘सेन्थेटिक ट्र्याक’ उप्किएको विषयमा अध्ययन गर्न गठन भएको उपसमितिले रंगशालामा पुगेर छानबिन शुरू गरेको छ। 

निर्माण गरेको एक महिना नबित्दै सेन्थेटिक ट्र्याक उप्किएको विषय सार्वजनिक भएको थियो। त्यसपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य लेखबहादुर क्षेत्रीको संयोजकत्वमा गठित तीन सदस्यीय अध्ययन उपसमिति गठन भएको थियो। सो उपसमितिले रंगशालामा पुगेर छानबिन गरिरहेको साबिक मध्यपश्चिमाञ्चल खेलकुद विकास समिति कार्यालयका प्रमुख महेश चन्दले बताए। 

उनका अनुसार सेन्थेटिक ट्र्याक निर्माणका क्रममा निर्माण पक्षबाट प्राविधिक रूपमा के कस्तो त्रुटि भयो वा के कति कारणले ट्र्याक उप्कियो सो बारेमा सूक्ष्म अनुसन्धान भइरहेको छ। 

अध्ययन उपसमितिका संयोजक राखेप सदस्य क्षेत्रीले प्रारम्भिक अध्ययनका क्रममा जडानमा कमजोरी भएर सेन्थेटिक ट्र्याकको ‘डी एरिया’मा उप्किएको, उत्तर–दक्षिण साइडमा विभिन्न स्थानमा पानी जमेको पाइएको बताए। “हामीले औपचारिक रूपमा अध्ययन गरिरहेका छौँ। यसमा केही कमी, कमजोरी देखिएका छन्, त्यसलाई लिपिबद्ध गरेर प्रतिवेदन तयार पार्छौं,”  उनले भने।   

रंगशालामा रहेका निर्माण कम्पनीका प्राविधिक मनीषकुमार शाहले नेपालमा यस्तो पहिलो घटना भएको जनाउँदै के कति कारणले भयो? आफूहरूले पनि खोजी गरिरहेको बताए। सेन्थेटिक ट्र्याक निर्माण गुणस्तरीय प्रविधिको प्रयोग गरी गरिएको जनाउँदै कसरी उप्कियो भन्ने विषयम आफूहरूले  पनि बुझ्न नसकेको उनले बताए। 

राखेपले सेन्थेटिक ट्र्याक निर्माण गर्न ठेकेदार कम्पनी ‘पञ्चकन्या–सिन्कोट्स जेभी’ ललितपुरलाई नौ करोड ८६ लाख ४० हजार ८३२ रुपैयाँमा ठेक्का दिएको थियो। सन् २०२३ मार्च २३ मा ठेक्का सम्झौता भएकामा सन् २०२४ जनवरी ५ मा काम सम्पन्न गरिसक्नुपर्नेमा ठेकेदार कम्पनीले गत असार मसान्त (जुन १५) मा मात्र काम सम्पन्न गरेको थियो।