पर्वतमा १ वर्षमा ७ चितुवा मृत भेटिए

डिभिजन वन कार्यालय पर्वतका अनुसार एक वर्षको अवधिमा सात वटा चितुवा मृत अवस्थामा भेटिएका छन्।

फाइल तस्वीर

पर्वत– जिल्लाका विभिन्न स्थानमा एक वर्षको अवधिमा सात वटा चितुवा मृत अवस्थामा भेटिएका छन्। जिल्लास्थित डिभिजन वन कार्यालयका अनुसार गत आर्थिक वर्षमा विभिन्न स्थानबाट सात वटा चितुवा मृत भेटिएका हुन्।

कार्यालय प्रमुख झ्यामनारायण सापकोटाले गत पुस १ गतेदेखि गत जेठसम्ममा पोथी चितुवा र चितुवाका बच्चा मृतावस्थामा भेटिएका जानकारी दिए। गत पुस १ गते जिल्लाको बिहादी गाउँपालिका–२ बर्राचौरमा बच्चा चितुवा, पुस ९ गते कुस्मा नगरपालिका–८ चुवामा एउटा भाले र एउटा पोथी, पुस १२ गते मोदी गाउँपालिका–५ बाजुङमा दुई वटा चितुवा मृत फेला परेपछि डिभिजन वन कार्यालयको टोली पुगेर उद्धार गरेको थियो ।

गत वैशाख १८ मा कुस्मा–९ कटुवाचौपारीको चिन्नेखोलामा भाले चितुवा र जेठ १३ मा कुस्मा–२ खुर्कोटमा एउटा पोथी चितुवा मृतावस्थामा फेला परेका कार्यालयले जनाएको छ। वन क्षेत्रको वृद्धि, चितुवाका लागि उपयुक्त वासस्थान मिल्दा पछिल्लो समय जिल्लामा चितुवाको संख्यामा वृद्धि हुँदै गएको सापकोटाले बताए। 

“गाउँघरमा रातिको समयमा पशुचौपायामाथि चितुवाले आक्रमण गर्ने क्रममा मृत्यु भएको हुनसक्छ। मृत भेटिएकामा बच्चा चितुवा पनि छन्, यसको कारण आहारको खोजी हुनसक्ने अनुमान गरेका छौँ,” उनले भने।

मृतावस्थामा भेटिएका चितुवाको प्रकृति हेर्दा अरूको आक्रमणमा परेकोजस्तो नदेखिएको डिभिजन वन कार्यालयका प्रमुख सापकोटाले बताए। “अहिले खाद्य चक्रमा समस्या आइरहेकाले तिनीहरूको मृत्यु भएको हुन सक्छ। कोही पानी खान जाँदा पोखरीमा डुबेर मरेको पनि भेटियो। बाघको जस्तै उपयोगिता चितुवाको नहुने भएकाले मानिसले चितुवालाई मार्ने गरेको खासै भेटिएको छैन,” उनले भने। 

चितुवाका बच्चासमेत मृत भेटिनुले आमाहरू आहाराको खोजीमा निस्किने र आहारा नपाउँदा केही समय वासस्थानमा नफर्कँदा बच्चाहरू भोकले मरेको हुनसक्ने सापकोटाको भनाइ छ। आहाराका लागि घाँसे मैदान आवश्यक पर्ने भन्दै उनले पहाडी वनमा त्यति धेरै घाँसे मैदान नहुने, हरिण, मृगलगायत जनावरको संख्या कमी हुँदै जाँदा खाद्य संकट परेको हुन सक्ने उनले बताए। पर्वतमा आर्थिक वर्ष २०७९/८० मा नौ वटा चितुवा मृतावस्थामा भटिएका थिए भने दुई वटाको जीवितै उद्धार गरिएको थियो।