मानव अधिकार उल्लंघनको समीक्षा गर्न यूएनको टोली बांग्लादेशमा

बांग्लादेशका अन्तरिम नेता मोहम्मद युनुसले संयुक्त राष्ट्रसंघका अनुसन्धानकर्तालाई आवश्यक सबै सहयोग आफ्नो प्रशासनले गर्ने बताए।

शेख हसिनाको प्रधानमन्त्री पदबाट राजीनामापछि प्रदर्शनकारीले संसद् भवनबाहिर खुशियाली मनाउँदै। तस्वीर : एपी

शेख हसिनाको १५ वर्षे शासन अन्त्य गर्ने विद्यार्थी नेतृत्वको प्रदर्शनका क्रममा भएको भनिएको मानव अधिकार उल्लंघनको अध्ययन गर्न संयुक्त राष्ट्रसंघको एक टोली बिहीबार बांग्लादेश पुगेको छ।

एक महिनाभन्दा बढी समय चलेको विद्यार्थी आन्दोलनमा व्यापक जनसहभागिता देखिएपछि गत अगस्ट ५ मा पूर्वप्रधानमन्त्री हसिना हेलिकप्टरबाट भागेर छिमेकी मुलुक भारतको राजधानी नयाँ दिल्ली गएकी थिइन्। उनको राजीनामाको जानकारी बांग्लादेशका सेना प्रमुखले दिएका थिए। आन्दोलनका क्रममा ४५० जनाभन्दा बढीको मृत्यु भएको थियो भने अधिकांशले प्रहरीको गोली लागि वा बल प्रयोगका कारण ज्यान गुमाएका थिए। 

संयुक्त राष्ट्रसंघीय मानवअधिकार कार्यालयले गत साता एक प्रारम्भिक प्रतिवेदनमा प्रदर्शनका क्रममा सुरक्षा बलले अनावश्यक र असमान बल प्रयोग गरेको भन्ने बलियो संकेत रहेको र थप स्वतन्त्र अनुसन्धानको खाँचो रहेको बताएको थियो।

“कथित उल्लंघनमा गैरन्यायिक हत्या, स्वेच्छाचारी गिरफ्तारी र हिरासत, बलपूर्वक बेपत्ता पार्ने, यातना र दुर्व्यवहारका घटनासमेत समावेश छन्,” मानव अधिकार कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “अब बांग्लादेशमा उच्चस्तरीय समूहले ’मानव अधिकार उल्लंघनको अनुसन्धानको खाका’ तयार गर्नेछ।”

संयुक्त राष्ट्रसंघको ढाकास्थित कार्यालयले जारी गरेको विज्ञप्तिमा छलफलका आधारमा आगामी हप्तामा अनुसन्धानका लागि छुट्टै तथ्य पत्ता लगाउने टोली परिचालन गर्न सकिने उल्लेख छ। बांग्लादेशका अन्तरिम नेता मोहम्मद युनुसले संयुक्त राष्ट्रसंघका अनुसन्धानकर्तालाई आवश्यक सबै सहयोग आफ्नो प्रशासनले गर्ने बताए।

पूर्वप्रधानमन्त्री हसिनाको सरकारमाथि व्यापक दुर्व्यवहार गरेको आरोप लागेको थियो, जसमा राजनीतिक विरोधीहरूको सामूहिक हिरासत र गैरन्यायिक हत्या पनि समावेश थियो ।

हसिनाले गठन गरेको बांग्लादेशी युद्ध अपराध न्यायाधिकरणले हालैको अशान्तिलाई लिएर आफ्ना संस्थापकमाथि तीन वटा ‘सामूहिक हत्या’को अनुसन्धान शुरू गरेको छ। यी तीनवटै मुद्दा निजी व्यक्तिले ल्याएका हुन् र हसिनाका केही पूर्वउच्च सहयोगीहरूको पनि नाम लिइएको छ।