असार तेस्रो साताको बाढीले कञ्चनपुरमा १ अर्ब ५० करोडको क्षति

भारी वर्षाबारे स्थलगत अध्ययन गर्न कञ्चनपुर आएको मौसमविद्को टोलीले ‘क्लाउड ब्रस्ट’का कारण मुसलधारे वर्षा भएको निष्कर्ष निकालेको थियो।

फाइल तस्वीर।

दोधारा चाँदनी– असार तेस्रो साताको बाढीले कञ्चनपुरमा एक अर्ब ५० करोडको क्षति भएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार भौतिक पूर्वाधार, कृषि बाली, उद्योग तथा पशुधनमा उक्त रकम बराबरको क्षति भएको हो ।

बाढी र डुबानबाट भएको क्षतिको मूल्यांकन गरेर यहाँका कार्यालयहरूलाई विवरण पठाउन भने बमोजिम क्षतिको विवरण प्राप्त भएको निमित्त प्रमुख जिल्ला अधिकारी परशुराम पोखरेलले बताए। 

बाढीबाट कृषि क्षेत्रमा ६५ करोड ४० लाख, महाकाली सिँचाइ व्यवस्थापन कार्यालयमा २९ करोड २२ लाख, महाकाली सिँचाइ तेस्रो चरण कार्यालयमा दुई करोड ३२ लाख, सडक डिभिजन कार्यालयमा तीन करोड ८८ लाख, पूर्वाधार विकास कार्यालयतर्फ सात करोड १९ लाख बराबरको क्षति भएको छ। बाढीका कारण कञ्चनपुरमा चारजनाको मृत्यु भएको थियो। 

असार २३ र २४ गते कञ्चनपुरमा भीषण वर्षा भएको थियो। मौसम पूर्वानुमान महाशाखाका अनुसार यसअघि देशमा त्यति धेरै पानी कहिल्यै परेको थिएन। भारी वर्षाबारे स्थलगत अध्ययन गर्न कञ्चनपुर आएको मौसमविद्को टोलीले पनि कञ्चनपुरमा ‘क्लाउड ब्रस्ट’का कारण मुसलधारे वर्षा भएको निष्कर्ष निकालेको थियो।