भोगाधिकार विवाद समाधान नहुँदा कैलालीमा अस्पताल निर्माण अलपत्र

स्थानीय तहको स्वास्थ्य संस्था स्तरोन्नतिका क्रममा चार वर्षअघि सरकारले जमिनको स्वामित्व निर्क्योल नगरी १५ शय्याको आधारभूत अस्पताल निर्माण थालनी गरेको थियो।

घोडाघोडी– जमिनको भोगाधिकार विवाद समाधान नहुँदा कैलालीको घोडाघोडी नगरपालिकामा निर्माणाधीन १५ शय्याको नगर अस्पताल भवन अलपत्र परेको छ।

स्थानीय तहको स्वास्थ्य संस्था स्तरोन्नतिका क्रममा सरकारले जमिनको स्वामित्व निर्क्योल नगरी १५ शय्याको आधारभूत अस्पताल निर्माण थालनी गरेको थियो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ साल मंसिर १५ गते देशभरका ३९६ अस्पतालको एकसाथ शिलान्यास गरेका थिए। सोही अनुरूप घोडाघोडी नगरपालिकाले पनि वडा नं २ साडेपानीमा १५ शय्याको नगर अस्पताल बनाउने निर्णय गरेको थियो। 

घोडाघोडी नगपालिका प्रमुख खडकबहादुर रावतले जमिन भोगाधिकार नगरपालिकामा कायम नभएकाले समस्या भएको बताए। भोगाधिकार विवाद समाधानका लागि पहल गरिरहेको उनको भनाइ छ।

नगर अस्पताल निर्माणको सम्झौता राजेन्द्र निर्माण सेवा डडेलधुरासँग गरिएको थियो। कम्पनीले नौ करोड ८६ लाख रुपैयाँमा दुई वर्षभित्र भवन निर्माण गर्न २०७८ वैशाख २९ गते सम्झौता गरेको थियो। 

अस्पताल भवन निर्माण अलपत्र परेपछि पालिकाले स्वास्थ्य चौकीको भवनमा नगर अस्पताल सञ्चालन गरिरहेको छ।