टीआरसी विधेयक पारित भएकामा राष्ट्रसंघको स्वागत, नेपाललाई सघाउने प्रतिबद्धता

संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्का उच्चायुक्त भोल्कर टर्कले विधेयक दुवै सदनबाट टीआरसी विधेयक पारित भएकामा त्यसको स्वागत गर्दै कार्यान्वयन पीडितकेन्द्रित हुनुपर्नेमा जोड दिएका छन्। 

काठमाडौँ– संयुक्त राष्ट्रसंघले संक्रमणकालीन न्यायसम्बन्धी शान्ति प्रक्रियाका बाँकी कामलाई पूर्णता दिन बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरूपण तथा मेलमिलाप आयोगलाई आवश्यक पर्ने ऐन, कानून बनाउने (टीआरसी) विधेयक संघीय संसद्का दुवै सदनबाट पारित भएकामा स्वागत गरेको छ। 

संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्का उच्चायुक्त भोल्कर टर्कले विधेयक दुवै सदनबाट टीआरसी विधेयक पारित भएकामा त्यसको स्वागत गर्दै कार्यान्वयन पीडितकेन्द्रित हुनुपर्नेमा जोड दिएका छन्। 

शान्ति सम्झौता भएको १८ वर्षपछि पारित भएको उक्त विधेयक नेपालमा दिगो शान्ति स्थापनामा कोशेढुंगा साबित हुने विश्वास व्यक्त गर्दै उनले सत्य निरूपण र मेलमिलापसम्बन्धी सबै मुद्दा निरूपण गर्न सहज हुने बताएका छन्। 

उच्चायुक्त टर्कले जेनेभामा वक्तव्य जारी गर्दै दुवै आयोगमा पारदर्शी ढंगले स्वतन्त्र व्यक्ति नियुक्त हुनुपर्नेमा जोड दिएका छन्। उनले शान्ति प्रक्रियालाई सफलतापूर्वक तार्किक निष्कर्षमा पुर्‍याउने उदाहरणीय मुलुकका रूपमा नेपाल क्षेत्रीय एवं अन्तर्राष्ट्रिय जगत्मा स्थापित भएको उल्लेख गरेका छन्। शान्ति प्रक्रियाको महत्त्वपूर्ण चरणमा नेपाल सरकारलाई सहयोग गर्न आयोग तत्पर रहेको उनको भनाइ छ।