कान्तितालमा आश्रय लिइरहेका चराको हरेक वर्ष गणना हुँदै आएको छ। दुई वर्षअघि गरिएको गणनाअनुसार यहाँ २५ प्रजातिका चरा फेला परेका थिए।
नेपालगन्ज– सीमसार क्षेत्रका रूपमा रहेको नेपालगञ्जको कान्तितालमा दुर्लभ सारसलगायत चराको वासस्थान संकटमा पर्ने जोखिम बढेको छ। तालको स्वरूप परिवर्तन गरेर त्यहाँ मोटरबोट चलाउन प्रयास भएकाले चराको वासस्थान संकटमा परेको संरक्षणकर्मीले बताएका हुन्।
नेपालगन्ज उपमहानगरपालिका– २१ र २२ मा पर्ने २५ बिघा क्षेत्रफलमा फैलिएको तालमा संरक्षित चराका रूपमा रहेको दुर्लभ सारसलगायत परम्परागत र आगन्तुक चराको वासस्थान संकटमा परेको ‘फ्रेन्ड्स फर वाइल्ड लाइफ कन्जरभेसन’का अध्यक्ष आशिष चौधरीले बताए। सो स्थानमा साइबेरिया, थाइल्यान्ड र मलेसियाबाट चरा आउने गर्छन्।
पक्षी संरक्षण समाज र नेपाल चराविज्ञ एसोसिएसनको विज्ञ टोलीले डेढ घण्टासम्म सर्भे गर्दा ३२ प्रकारका परम्परागत र आगन्तुक चराको वासस्थान रहेको तालमा तीन प्रजातिका कमलका फूल फेला परेको उल्लेख गरेको छ। “यसलाई जैविक विविधता र बर्ड पार्कका रूपमा विकास गर्नुपर्छ,” संरक्षणकर्मी चौधरीले भने। मोटरबोट चल्दा त्यसले पर्यावरणमा नोक्सानी हुने औँल्याउँदै उनले कान्तिताल चराको आहाराको स्रोत भएको बताए। “तालमा चराको प्राकृतिक आवास भएकाले त्यहाँ धेरै चरा रमाउँछन्,” उनले भने।
उक्त तालमा आश्रय लिइरहेका चराको हरेक वर्ष गणना हुँदै आएको छ। दुई वर्षअघि गरिएको गणनाअनुसार पहिलो वर्ष यहाँ २५ प्रजातिका चरा फेला परेका थिए। दोस्रो वर्ष घटेर २२ प्रजातिका चरा फेला परेका छन्। आगामी हिउँद सिजनमा पनि चरा गणना गर्ने संरक्षणकर्मीको योजना छ।
तालमा दुर्लभ पक्षी सारस, अन्य परम्परागत चरा, विभिन्न प्रजातिका सरीसृप, दुर्लभ प्रजातिको मलाहा बिरालो (फिसिङ क्याट)लगायतको वासस्थान छ। यहाँ गर्मीयाममा युरोप, मध्यपूर्वी एसिया, इन्डोनेसियाबाट आएका चराले वासस्थान बनाउँछन् भने जाडोयाममा साइबेरिया, उत्तरी चीनलगायत देशबाट चरा आउँछन्। बसाइँ सरेर आउने आगन्तुक चराले पनि ताल क्षेत्रमै बच्चा उत्पादन गर्ने गर्छन्। सारसले पनि कान्तिताललाई प्रजननस्थल बनाउँदै आएको छ। अध्यक्ष चौधरी भन्छन्, “ताल सारसका लागि बाँके र बर्दियाकै राम्रो वासस्थान मानिन्छ।” उनका अनुसार सारसको वासस्थान बाँकेस्थित राप्ती नदीको तटीय क्षेत्र, कान्तिताल र मानखोला रहेको छ। तर यीमध्ये सबैभन्दा राम्रो वासस्थान सो ताल रहेको बताइएको छ। यस स्थानमा विभिन्न जलचर र वनस्पति छन्।
दुर्लभ सारस पाइने जिल्ला रुपन्देही, कपिलवस्तु, बाँके, बर्दिया र कैलाली हो। यसअघि गणना गर्दा बाँकेमा ३३ वटा सारस फेला परेका थिए। पक्षीविद् रामबहादुर शाहीले प्राकृतिक सिमसारमध्ये कान्तिताल सबैभन्दा राम्रो सिमसार क्षेत्र भएको उल्लेख गर्दै सरकारले संरक्षित सूचीमा राखेको चरा सारस प्रत्यक्ष देखिएको बताए।
पक्षीविद् शाहीले अफ्रिकाबाट आएको जुरे कोइली पनि सो तालमा रहेको जानकारी दिँदै अन्य सयौँ स्थानका स्थानीय प्रजातिका चराको पनि वासस्थान उक्त ताल भएको बताए। नेपालगन्ज उपमहानगरपालिकाले २०७८ सालमा १० वर्षका लागि स्थानीय ठेकेदारलाई मोटरबोट चलाउन ठेक्का दिएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
