भारतीय नम्बर प्लेटको बस मर्स्याङ्दी नदीमा खस्यो, उद्धार जारी

पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस नदीमा खसेको तनहुँका डीएसपी दीपककुमार रायले जानकारी दिए।

काठमाडौँ– पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी नजिकै भारतीय नम्बर प्लेटको बस मर्स्याङ्दी नदीमा खसेको छ। आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐना पहराबाट यात्रुवाहक बस शुक्रबार मर्स्याङ्दी नदीमा खसेको हो। 

पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस नदीमा खसेको तनहुँका डीएसपी दीपककुमार रायले जानकारी दिए। उनका अनुसार बसमा भारतीय पर्यटक रहेका थिए। यात्रुको संख्या भने यकिन हुन सकेको छैन। 

अहिले प्रहरी टोली घटनास्थलमा पुगेर यात्रुको उद्धार गरिरहेको छ। दुर्घटनास्थल अप्ठ्यारो भीरमा भएका कारण डोरीको सहायताले नदी किनारमा पुगेर उद्धार भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।