भारतको त्रिपुरामा वर्षाका कारण २२ को मृत्यु, १७ लाख मानिस प्रभावित

भारतीय मौसम विभागले त्रिपुरा राज्यका धेरै भागमा भारी वर्षाको पूर्वानुमान गर्दै ‘रेड अलर्ट’को चेतावनी जारी गरेको छ।

भारतको उत्तरपूर्वी राज्य त्रिपुरामा विगत चार दिनदेखिको भारी वर्षाले निम्त्याएको बाढी र पहिरोका कारण कम्तीमा २२ जनाको मृत्यु भएको छ। साथै अन्य दुई जना बेपत्ता भएको अधिकारीहरूले शुक्रबार बताएका छन्।

स्थानीय राजस्व विभागका अनुसार बाढीका कारण त्रिपुरा राज्यमा करिब १७ लाख मानिस प्रभावित भएका छन्। बाढीले आवास, पूर्वाधार, सडक तथा कृषिमा गम्भीर क्षति पुर्‍याएको छ।

बाढी प्रभावित राज्यमा ४५० राहत शिविर स्थापना गरी ६५ हजारभन्दा बढी मानिसलाई आश्रय दिइएको अधिकारीले बताएका छन्।

राज्यका नदीहरूमा बहाव बढेको छ। बाढीले गोमती, दक्षिण त्रिपुरा, उनाकोटी र पश्चिम त्रिपुरा जिल्लालाई गम्भीर रूपमा असर गरेको स्थानीय अधिकारीले जनाएका छन्।

प्रारम्भिक रिपोर्टअनुसार बाढीका कारण भौतिक पूर्वाधार र कृषि बालीलगायतका क्षेत्रमा व्यापक क्षति भएको वरिष्ठ स्थानीय अधिकारी बृजेश पाण्डेले बताए। 

अल इन्डिया रेडियोका अनुसार त्रिपुरामा चार दिनसम्म परेको लगातारको वर्षाले कृषि र ऊर्जा क्षेत्रमा गम्भीर क्षति पुर्‍याएको छ।

स्थानीय सरकारले भारतीय वायु सेनासँगको सहकार्यमा बाढी प्रभावित क्षेत्रमा सहयोग तथा उद्धार कार्यका लागि राष्ट्रिय विपद् प्रतिक्रिया बलको टोली तैनाथ गरेको छ।

बाढीले त्रिपुराको राजधानी अगरतलाको रेल सेवामा समेत असर पारेको छ। गोमती, दक्षिण त्रिपुरा र अन्य बाढी प्रभावित क्षेत्रमा दूरसञ्चार सेवा अवरुद्ध भएको छ। अर्को निर्देशन नआउँदासम्मका लागि प्रभावित क्षेत्रका शैक्षिक संस्था हाललाई बन्द गरिएका छन्।

यसैबीच, भारतीय मौसम विभागले त्रिपुरा राज्यका धेरै भागमा भारी वर्षाको पूर्वानुमान गर्दै ‘रेड अलर्ट’को चेतावनी जारी गरेको छ।