लेखक एनबी गिरीले संकलन गरेका त्यस्ता झण्डै एक सय नामको सूचिमा भूगोल र मानचित्रसँगको ठाडो हेराफेरी देख्न सकिन्छ। जस्तै, न्यौपाने बस्ती ‘डेछेन्लिङ्ग’ अनि काफ्लेटार ‘नोर्बुथाङ येन्चेन्फु’ बनेको छ।
काठमाडौँ– दक्षिणी भुटानको गेलेफु, बेलबोटेमा जन्मे–हुर्केका एनबी गिरी भुटान सैन्य सेवामा मेकानिकल इन्जिनियर थिए। आफ्नो पेशागत जिम्मेवारीसँगै भुटानी राजा, सरकार र पद्धतिमा ‘नुनको सोझो’ गरिरहेकै बेला गिरी एकाएक पक्राउ परे, सन् १९९० डिसेम्बर २० मा।
भर्खरै टोङ्सा क्षेत्रको निर्माणाधीन सडकको अवस्था र समस्या अवलोकन गरेर बेलबोटे फर्किएका उनलाई घरमै घेरा हालेर पक्राउ गरिएको थियो। त्यसपछि गेलेफु कारागार लगेर राखियो। सन् १९९० को शुरूदेखि दक्षिण भुटानमा भएको दमन, ल्होत्साम्पा (नेपालीभाषी)माथिको निरंकुश व्यवहार र जातीय सफाया गर्ने तहको अभियानबारे गिरी पनि जानकार थिए। तर उनी कुनै प्रकारको प्रतिकार अभियानमा थिएनन्।
“मैले सकेसम्म उच्च तहमा र राजासमक्ष कुरा पुग्नेगरी आफ्नो निर्दोष अवस्थाबारे जानकारी गराई हेरेँ,” केही वर्षयता भक्तपुरको काँडाघारी बस्दै आएका गिरीले उकालोसँग भने, “तर उपाय लागेन। म लगातार १४ महिना गेलेफु कारागारमा थुनिएँ। त्यो कारागारभन्दा बढी यातनाकेन्द्र थियो जहाँ कैदमा राखिएकालाई प्रहरी, डुङ्पा र जोङ्दाहरूले निर्ममतापूर्वक कुटपिट गरिरहेका हुन्थे।”

खासमा त्यो कारागार नभएर विश्व स्वास्थ्य संगठनले बनाइदिएको गेलेफु स्वास्थ्य केन्द्र थियो, जसलाई पछि यातनाकेन्द्र बनाइयो। त्यो केन्द्रमा बस्दाका पण्डित गौरीशंकर नेपाल (हाल अमेरिका), धनपति न्यौपाने (हाल अमेरिका), बुद्धजित कठेयत (हाल डेनमार्क), बसु घले (हाल नेदरल्यान्ड), लोकनाथ आचार्य (हाल अमेरिका)सहित धेरैले यातना पाएका थिए।
बिनाकानूनी आधार १४ महिनासम्म जेलमा थुनिएपछि सन् १९९२ फेब्रुअरी १० मा गिरीले सपरिवार देश छाडे। भारतमा कतै रहनबस्न नपाइने स्थिति आएपछि उनी पनि झापाको माइधारमा स्याउले छाप्रोमुनि शरण लिन पुगे।
“त्यो शरणागत भूमिमा एक जना डाक्टर भम्पा राई मात्रै थिए,” गिरी सम्झिन्छन्, “माइधार किनारामा भुटानी बालबच्चा, वृद्ध बाआमा, भुटान छँदै बलात्कृत चेलीबेटी र अकारण माटो गुमाएका असंख्य निर्दोषहरू थिए।”
माइधार शिविरमा बसिरहेकै बेला मात्र नभई भुटानबाट भारतीय बाटो हुँदै नेपाल प्रवेश गर्दा पनि भुटानी राज्य र राजासँग द्वेष राख्ने र असहिष्णु बन्नेहरू धेरै हुन्थे। तर गिरीका बुझाइमा भारतीय छत्रछायाँ र अधिनस्थ सम्बन्धमा टिकेको भुटानका निम्ति भारत ‘सर्वेसर्वा’ हो।
“भुटान, जसले चीन र भारतबीचको सिमानामा महत्त्वपूर्ण स्थान ओगटेको छ, उसलाई भारत अधीनस्थ राख्नका लागि उसको सुरक्षा, विकास र परराष्ट्र नीतिहरूमा भारतको सर्वेसर्वा अधिग्रहण छ,” गिरीले उनको पछिल्लो कृति ‘जनरव फिराद’मा लेखेका छन्, “भुटानको सत्तासीन वाङचुक राजदरबारको सनकी मानसिकता हुनुमा अनि भुटान आजसम्म अन्धकुप अवस्थामा रहिरहनुमा भारत सबैभन्दा बढी जिम्मेवार छ।”

देश–दुनियाँमाझ ‘ह्याप्पी इन्डेक्स’को ‘ट्याग’ बोकेर हिँडेको भुटानको यो सकल राष्ट्रिय आनन्द (जीएनएच) लाई गिरीले ‘गुदी बिनाको फोस्रो कुरा’ भनेका छन्। सकल राष्ट्रिय आनन्दको घोषणा गर्ने राजालाई मुर्ख मण्डलीको मुर्खाधिराज भन्दै गिरीले लेखेका छन्, “आनन्दको नापतौल स्वेच्छाचारी तराजुले तौलेर हेर्नु भुल हुन्छ, भुटानमा राजा आफैँसँग भने ह्याप्पी–इन्डेक्स छैन।”
भुटानको दक्षिणी भेगमा रहेका ल्होत्साम्पा नेपालीभाषीको पहिचान र इतिहास मेटाउन त्यो भूगोलको नाम–ठेगानासमेत परिवर्तन गरिएको दृष्टान्तलाई पनि गिरीले यस कृतिमा उल्लेख गरेका छन्।
“सारा जगतलाई थाहा भएकै कुरा हो, दक्षिण भुटानका यी नामहरू नै भुटानको पहिलो नामहरू हुन् जुन नामहरू भुटान अस्तित्वमा आउँदा विश्व मानचित्रमा थाहा लागेका हुन्,” उनले लेखेका छन्, “दक्षिणी भुटानका गाउँ, जिल्ला र केही स्थानको नाम परिवर्तन गरी भुटान सरकारले जोङ्खा नाम राखिदिएको छ।”
गिरीले संकलन गरेका त्यस्ता झण्डै एक सय नामको सूचिमा भूगोल र मानचित्रसँगको ठाडो हेराफेरी देख्न सकिन्छ। सन् ९० को दशकसम्म दानबारी रहेको नाम आज ‘छुजाङ’ बनेको छ। बिमिरे ‘शेलथाङ’ अनि डाँडागाउँ ‘साम्तेन्फु’ बनेको छ। यस्तै, न्यौपाने बस्तीको नाम अहिले ‘डेछेन्लिङ्ग’ बनेको छ भने काफ्लेटार ‘नोर्बुथाङ येन्चेन्फु’ बनेको छ। गङ्गटे ‘ड्रागफुचेन’ र च्याङ्मारी आज ‘नोर्बुगाङ’ बनिसकेको छ। लोदराई ‘पेर्लीथाङ’ बनेको छ र, चुवाबारी ‘जिग्मीदलिङ’ बनिसकेको छ।

भुटानबाट लखेटिएर नेपाल आए पनि र हुँदाखादाको नागरिक पहिचान शरणार्थीमा बदलिए पनि गिरी स्वयंले पुनर्बसोबासका नाममा अमेरिका–युरोप जान चाहेनन्। उनी जानका लागि गए तर, बस्न सकेनन्। पुनर्बसोबासको कार्यक्रम शुरू भएपछि सन् २०११ मै गिरीका छोराछोरी अमेरिकाको पेन्सिलभेनिया पुगेका हुन्।
“अमेरिकामा मान्छे–मान्छेबीच संवाद हुन छाडिसक्यो, सबै संवाद र सम्बन्धहरू कृत्रिम छन्,” गिरीले सुनाए, “फेरि शरणार्थी समस्या समाधानका नाममा बाहिरी मुलुक पुगेका नेपालीभाषी (ल्होत्साम्पा) आज फर्केर पर्यटककै रूपमा भए पनि आफ्नो जन्मथलो (भुटान) जान नपाउने प्रबन्ध भैसकेको छ। यो कस्तो मानव अधिकार हो, कुन प्रकारको न्याय हो भनेर लेख्ने र बोल्ने कर्ममा बढी लागेको छु।”
नेपाली वृहत शब्दकोषका अनुसार ‘जनरव’ भनेको जनताले आफूलाई मर्का पर्दा वा आफ्नो हितको लागि नियम वा व्यवस्थामा परिवर्तन ल्याउनुपर्दा भाषण, अखबार आदिका माध्यमबाट प्रकट गर्ने विचार जनआवाज हो। यस्तै, ‘फिराद’लाई सम्बन्धित अदालत वा अधिकारीका समक्ष न्याय पाउन गरिने प्राथना, नालिस भनेर अर्थ्याएको छ।
पिरमर्का बुझाउने र न्यायको पुकारा माग गर्न प्रयोग हुने यही शब्दार्थका आधारमा गिरीले आफ्नो पुस्तकको नाम ‘जनरव फिराद’ राखेका छन्।
“आफ्नै देशभित्र खेप्नुपरेको बुहार्तनका कारण कुनैदिन देश फर्किएर गइएला भन्ने सोच्दा मात्रै पनि मानसिक तनाव बल्झने स्थीतिमा म पुगेको थिएँ। तर, आफ्नो आगतबिगत, पहिचान र माटोको इतिहासलाई यसरी नामेट गरिँदासमेत कहीँकतै कसैले पनि बोल्ने रहेनछ भन्ने यथार्थ झनै पीडादायी बनेको छ। भुटानमा हाम्रो मर्यादा र सम्मान गिरेको छ, गिराइएको छ। त्यहाँ खेप्नुपरेका बातहरू सधैँ तिक्त रहेका छन्, मन–मस्तिष्कमा शूलसरी,” गिरीले सुनाए, “हामीलाई भुटानी शासकले टेक्ने न समाउने बनाइदिएका छन्। हामी त्यो देशको होइन भनेको चैँ त्यो देशको कसरी भयो त? सत्ता र शक्तिको बलले मात्रै नागरिक बन्न सकिन्छ र?”
उमेरमा ७० लागेका गिरीले आफ्नो जीवनकालको आधा उमेर भुटानी माटो–बाटोमा बिताए। पछिल्ला ३५ वर्ष भने उनी शरणार्थी बनेर आफ्नै अस्तित्वको खोजमा लागिपरेका छन्। उनलाई के लाग्छ भने संयुक्त राष्ट्रसंघ वा यस्तै इमानजमान रहेका निकायले कुनै दिन भुटानी जातीय सफाया र ल्होत्साम्पाले बेहोरेको अनाहकको देशविहीन हैसियतका बारेमा बोल्नेछन् वा थाहा पाउनेछन्।
अहिले सुखी–खुशी राष्ट्रको दुहाइमा सबै राष्ट्रिय–अन्तर्राष्ट्रिय निकाय तथा बुद्धिजीविहरू होहोरीमा लागे पनि आखिरमा सत्य त एउटा नै हुन्छ।
“मलाई के लाग्छ भने मान्छे त मरेर वा मारेर पनि सकिएला। तर, यो भुटानको अमानवीय कर्मको मुद्धा त कहिल्यै सकिनेवाला छैन,” गिरीको बातचितको निचोड थियो, “मैले भन्न चाहेको जनरव फिराद भनेको यही हो, न्यायको पुकारा!”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
