विश्वकै दोस्रो ठूलो हिरा फेला, तौल २ हजार ४९२ क्यारेट

सन् १९०५ मा दक्षिण अफ्रिकामा फेला परेको ३ हजार १६ क्यारेटको कुलिननपछिको यो ठूलो हिरा रहेको बताइएको छ।

विश्वकै दोस्रो ठूलो हिरा दक्षिण अफ्रिकी देश बोत्सवानामा फेला परेको छ। क्यानेडाली खानी कम्पनी लुकारा डाइमन्डले उत्खनन् गरिरहेको खानीमा २ हजार ४९२ क्यारेटको उक्त हिरा फेला परेको हो।

लुकारा डायमन्ड कर्पोरेसनले बिहीबार एक विज्ञप्ति जारी गर्दै उत्तरपूर्वी बोत्स्वानाको कारोवे डायमन्ड खानीमा एक्सरे प्रविधि प्रयोग गरी उक्त हिरा फेला पारेको जनाएको हो।

लुकाराले उक्त हिराको गुणस्तरको उल्लेख गरेको छैन, तर क्यारेटको हिसाबले यो सन् १९०५ मा दक्षिण अफ्रिकामा फेला परेको ३ हजार १६ क्यारेटको कुलिनन हिरापछि दोस्रो रहेको बताएको छ।

युरोपको सबैभन्दा ठूलो अनलाइन हिरा ज्वेलर्स ‘७७ डायमन्ड्स’का प्रबन्ध निर्देशक टोबियास कोर्मिन्डले पनि यो हिरा कुलिननपछि पत्ता लागेको सबैभन्दा ठूलो हिरा भएको पुष्टि गरे।

लुकारा कम्पनीले अहिलेसम्म यो हिराको नाम भने राखेको छैन। पछिल्लो समय कृत्रिम हिरा (कारखानामा हिरा बनाउने)ले बजार लिन थालेको छ। जसका कारण हिराको खोजी कम हुन्छ र वास्तविक हिराको बजार घटिरहेको छ। यस्तो अवस्थामा यस हिराको खोजीबाट उद्योग र बोत्सवानालाई फाइदा हुनेछ।

लुकाराका अध्यक्ष विलियम ल्याम्बले विज्ञप्तिमा भनेका छन्, “हामी यो असाधारण हिरा भेटाउँदा उत्साहित छौँ।” यो हिरा बोत्सवानाको कारोव खानीमा भेटिएको थियो। यसअघि सोही खानीमा १७५८ क्यारेटको सेवेलो र ११०९ क्यारेटको लेसेडी ला रोना जस्ता ठूला आकारका हिरा भेटिएका थिए।

कम्पनीले सार्वजनिक गरेको तस्वीरमा हीरा हातको हत्केला जत्तिकै ठूलो रहेको देखिन्छ।

बोत्सवाना विश्वको सबैभन्दा ठूलो हिरा उत्पादकहरू मध्ये एक हो। यसको आयको मुख्य स्रोत कूल गार्हस्थ्य उत्पादन (जीडीपी)को ३० प्रतिशत र यसको निर्यातको ८० प्रतिशत हिरा व्यवसायसँग सम्बन्धित छ।