सहकारीको बचत दुरुपयोग सम्बन्धमा गोरखा मिडियाका पूर्वपदाधिकारीसँग सोधपुछ

सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिले गोरखा मिडियाका पूर्वसञ्चालक छविलाल जोशीसँगै तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसँगै पनि सोधपुछ गरेको छ।

काठमाडौँ– सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले गोरखा मिडिया नेटवर्क प्रालिका पूर्वसञ्चालक एवं प्रबन्ध निर्देशक रवि लामिछानेसँग सोधपुछ गरेको छ।

समितिको शुक्रबार बसेको बैठकमा समितिको कार्यविधिअनुसार विभिन्न सहकारी र कम्पनीको रकम दुरुपयोगमा संलग्नका रूपमा आरोपितमध्ये पूर्वउपप्रधानमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेसँग सोधपुछ गरिएको समिति सभापति सूर्य थापाले जानकारी दिए।

समिति सचिव बविता मिश्रका अनुसार गोरखा मिडिया नेटवर्क प्रालिका पूर्वसञ्चालक छविलाल जोशीसँग पनि सोधपुछ गरिएको थियो। 

समितिले विभिन्न सहकारी र कम्पनीको रकम दुरुपयोगमा संलग्नको रूपमा आरोपित व्यक्तिहरूसँग सोधपुछ तथा बयान लिइरहेको छ। विभिन्न सहकारी संस्थाका सदस्य (शेयरधनी) एवं बचतकर्ताको रकम हिनामिना, अपचलन, अनुचित लेनदेन भएको विषयमा अध्ययन गर्ने कार्यादेश समितिले पाएको छ।

विभिन्न सहकारी संस्थाहरूबाट प्रवाह भएको रकमको स्थिति, सो रकम गैरकानूनी रूपमा प्रवाह भए या नभएको र त्यस्तो गैरकानूनी या अनुचित कार्यमा कोही संलग्न देखिएमा त्यस्ता व्यक्तिहरूको बारेमा अध्ययन छानबिन गरी जोखिममा परेको रकमको असुलीको उपाय र संलग्न देखिएका व्यक्तिलाई कानूनबमोजिम कारबाहीका लागि आवश्यक सिफारिस गर्ने कार्यादेश समितिले पाएको छ ।

छानबिन समितिले समस्याग्रस्त घोषणा भएका र सामाजिक रूपमा प्रश्न उठेका सहकारी संस्थाहरूको अध्ययन गरिरहेको छ। समस्याग्रस्त घोषणा भएका बाहेक स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी, सुमेरु बचत तथा ऋण सहकारी, सूर्यदर्शन बचत तथा ऋण सहकारी, सुप्रिम बचत तथा ऋण सहकारी, सानो पाइला बचत तथा ऋण सहकारी, समानता बचत तथा ऋण सहकारी, इमेज बचत तथा ऋण सहकारी, आइडियल यमुना बहुउद्देश्यीय संस्थाको रकम हिनामिना भएको विषयमा समितिले अध्ययन गरिरहेको छ।