बग्न थाल्यो हिउँपहिराले थुनिएको मनाङको बोक्सीखोला

खोचमा थुप्रिएको हिउँलाई खोलाको पानीले पगालेर बग्न थालेको थासाङ गाउँपालिका अध्यक्ष प्रदीप गौचनले बताए। बोक्सीखोला हिमपहिरो खसेको ठाउँभन्दा करिब १५ किलोमिटर तल आएर कालीगण्डकी नदीमा मिसिन्छ।

म्याग्दी– धौलागिरि हिमशृंखलाको मानापाथी हिमालबाट खसेको हिमपहिराले थुनिएको मुस्ताङको बोक्सीखोला बग्न थालेको छ।

मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित मुलखर्क भन्ने ठाउँमा हिमपहिरोले थुनिएको बाक्सीखोला तीन घण्टापछि बग्न थालेको थासाङ गाउँपालिकाका अध्यक्ष प्रदीप गौचनले जानकारी दिए।

“आज दिउँसो करिब १ः३० बजेतिर खसेको पहिरो थुप्रिएर बोक्सी खोला थुनिदा दुई तिहाइ पानीको मात्रा घटेको थियो,” उनले भने, “दिउँसो ४ः३० बजेपछि खोलामा पानीको मात्रा बढेको छ। हाल तटीय क्षेत्रमा सतर्कता अपनाउन भनेका छौँ।”

खोचमा थुप्रिएको हिउँलाई खोलाको पानीले पगालेर बग्न थालेको अध्यक्ष गौचनले बताए। बोक्सीखोला हिमपहिरो खसेको ठाउँभन्दा करिब १५ किलोमिटर तल आएर कालीगण्डकी नदीमा मिसिन्छ। आसपासमा बस्ती नभए पनि बेनी–जोमसोम सडक बोक्सीखोलामा पर्दछ।

गाउँपालिका अध्यक्ष गौचन, मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्त, प्रहरी नायब उपरीक्षक भोजराज पाण्डे, सशस्त्र प्रहरी, नेपाली सेनाका अधिकारी, जनप्रतिनिधि र स्थानीय बासिन्दासहित सुरक्षाकर्मीको टोलीले पहिरो खसेको ठाउँको निरीक्षणसमेत गरेका थिए।

प्रमुख जिल्ला अधिकारी पन्तले तलाउ नदेखिएकाले जोखिम कम हुने अनुमान गरे पनि हिउँ पूरै नपग्लिँदासम्म तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको बताए।

यसअघि २०७८ कात्तिक २८ र फागुन २१ गते थासाङ गाउँपालिका–२ कोवाङमा टुकुचे हिमालबाट आएको हिमपहिराले १५० भन्दा बढी चौरीगाई मरेका थिए। पछिल्लो पहिरोबाट मानवीय र पशुधनको क्षति भने नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।