भैँसी बेचेर च्याउखेती

च्याउ उत्पादन हुने बेलामा मासिक एक लाखसम्म आम्दानी हुने कृषक इसा क्षत्रीको भनाइ छ।

बागलुङ–  बागलुङ नगरपालिका–३ गहतेकी इसा क्षत्रीले व्यावसायिक तरकारी खेती थालेको चार वर्ष भयो। तीन रोपनीभन्दा बढी जग्गामा उनले चार वटा प्लास्टिक टनेल बनाएकी छन्।

दुई वटा भैँसी पाल्दै आएका क्षत्रीले तरकारीमा नाफा देखेपछि एउटा भैँसी बेचेर तरकारी खेतीमा लगानी गरिन्। उनी अहिले तरकारी खेतीबाट आत्मनिर्भर बनेकी छन्। उनका तीन टनेलमा घिरौँला, लौका, टमाटर, धनियाँ र तिते करेला छन्।

तरकारी खेतीबाट हुने आम्दानीले एउटा छोरी र श्रीमान‍्सहितको जीविका चलाएर केही रकम बचत गर्दै आएकी छन्। उनले च्याउखेती पनि गरेकी छन्। च्याउखेतीका लागि क्षत्रीले छुट्टै टनेलको व्यवस्था गरेकी छन्। अन्य तरकारीबाट हुने आम्दानीको तुलनामा च्याउखेतीबाट दोब्बर आम्दानी हुने क्षत्रीले सुनाइन्। स्मृति कृषि तथा पशुपन्छी फार्म दर्ता गरेर तरकारी खेती गर्दै आएकी क्षत्रीले च्याउखेतीमा जोड दिएकी हुन्। 

उनले च्याउखेती थप विस्तार गर्ने योजनामा रहेको बताए। “परिवारको खर्च चलाउन चार वर्ष अघिदेखि साँढे तीन रोपनी जग्गामा मौसमी तथा बेमौसमी तरकारी उत्पादन गर्दै डोकोमा बोकेर बागलुङ बजार लगेर बिक्री गर्दै आएको थिएँ,” क्षत्रीले भनिन्, “छ महिनाअघि बागलुङ नगरपालिकाले प्रदान गरेको तीन दिने च्याउखेती तालिमले मलाई बल्ल राहत दियो।” 

२०० किलो च्याउ बिक्री गरिसकेको र अझै २५० केजीदेखि तीन सय केजी च्याउ उत्पादन हुने आशामा रहेको उनले बताइन्। च्याउ उत्पादन हुने बेलामा मासिक एक लाखसम्म आम्दानी हुने उनको भनाइ छ। 

बेनी नगरपालिका–२ बौरस्थित माइतीगाउँका महिला तरकारी खेतीबाट आयआर्जन गर्न सफल भएको देखेर व्यावसायिक तरकारी खेती थालेको क्षत्रीको भनाइ छ। जग्गा आफ्नै र बिक्रीसमेत आफूले बजार पुगेर गर्दा बचत धेरै हुने गरेको छ। बिचौलियासमेत आवश्यक नपर्ने उनको अनुभव छ।