रुसका ९२ गाउँ आफ्नो कब्जामा आएको युक्रेनको दाबी

सन् २०२४ को आठ महिनामा रुसले कब्जा गरेको भन्दा आफूले दुई हप्तामा बढी जमिन कब्जा गरेको युक्रेनले दाबी गरेको छ।

तस्वीर: एएफपी।

रुसमा राष्ट्रपति भ्लादिमिर पुटिनप्रति नागरिकले प्रश्न उठाउन थालेका छन्। पछिल्लो समय पुटिनविरुद्ध सामाजिक सञ्जालमा नागरिकले आक्रोश ब्यक्त गर्न थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

न्युयोर्क टाइम्सका अनुसार रुसको कुर्स्कमा युक्रेनी आक्रमणपछि पुटिनको लोकप्रियता घटेको चर्चा हुन थालेको छ। युक्रेनी सेनाको आक्रमणलाई रुसी सरकार र विशेषगरी पुटिनको असफलताका रूपमा हेरिएको छ।

पुटिनको युद्ध नीति असफल भएको भन्दै मानिसले उनको राजीनामा माग गरिरहेका छन्। युक्रेनी सेनाले रुसको सुदजा शहरमा प्रवेश गरेर लेनिनको मूर्ति भत्काएका छन्। गत वर्ष रुसको निजी सेना वाग्नर समूहका प्रमुख येभगेनी प्रिगोजिनको नेतृत्वमा भएको विद्रोहपछि पुटिनको लोकप्रियता घटेको थियो। 

अगस्ट ६ मा युक्रेनले पहिलो पटक रुसको भूभागमा प्रवेश गरी आक्रमण गरेको थियो। त्यसयता युक्रेनले दुई हप्तामा रुसबाट १२६३ वर्ग किलोमिटर क्षेत्र कब्जा गरेको राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दाबी गरेका छन्। उनका अनुसार युक्रेनी सेना कुर्स्कमा २८–३५ किलोमिटर अगाडि बढेको छ भने ९२ गाउँ कब्जा गरिसकेको छ। अगस्ट १६ मा सुदजामा रुसी र युक्रेनी सेनाबीच युद्ध भएपछि त्यहाँबाट रुसी सेना पछि हट्नु परेको थियो।

सन् २०२४ को आठ महिनामा रुसले कब्जा गरेको भन्दा युक्रेनले दुई हप्तामा बढी जमिन कब्जा गरेको युक्रेनले दाबी गरेको छ। दोस्रो विश्वयुद्धपछि कुनै पनि देशले रुसको यति ठूलो भूभाग कब्जा गरेको यो पहिलो पटक हो।

यही कारण रुसी जनताले पुटिनसँग युद्ध नीतिमा परिवर्तनको माग गरिरहेका छन्। कुर्स्कमा भएको आक्रमणका कारण जनतामा त्रास फैलिएको उनीहरूको भनाइ छ।