खोलाले बगाउँदा अरुण तेस्रोका कार्यरत १ मजदुर बेपत्ता

खोलाले बगाउँदा अरुण तेस्रोको विद्युत्‌गृह चिचिला गाउँपालिका–३ पुखुवामा कार्यरत मजदुर खाँदबारी–४ सेकाहाका ४५ वर्षीय गंगाबहादुर गुरुङ बेपत्ता भएका छन्।

सांकेतिक तस्वीर।

किमाथांका– संखुवासभामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाका एक मजदुर खोलाले बगाउँदा बेपत्ता भएका छन्।

अरुण तेस्रोको विद्युत्‌गृह चिचिला गाउँपालिका–३ पुखुवामा कार्यरत मजदुर खाँदबारी नगरपालिका–४ सेकाहाका अन्दाजी ४५ वर्षीय गंगाबहादुर गुरुङ बेपत्ता भएका छन्। शनिबार बिहान साढे ७ बजे गुरुङलाई कागुवा खोला तर्ने क्रममा बगाउँदा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभिषेककुमार श्रेष्ठले जानकारी दिए। 

अरुण तेस्रोको विद्युत् गृहस्थल पुखुवादेखि बिदामा घर फर्किँदै गरेका गुरुङ खोला तर्ने क्रममा बेपत्ता भएका हुन्। गुरुङको नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले खोजी कार्य गरिरहेको प्रहरी निरीक्षक श्रेष्ठले बताए। 

अरुण तेस्रो विद्युत् आयोजनामा नेपाली र भारतीयसहित तीन हजार बढी मजदुर कार्यरत छन्। अरुण तेस्रो विद्युत् आयोजनाको काम भारतीय कम्पनी सतलज एसजेभिएनले गरिरहेको छ।

आयोजनाबाट नेपालले २१.९ प्रतिशत अर्थात् १९७ मेगावाट बिजुली निःशुल्क पाउनुका साथै रोयल्टी र अन्य कर गरी अर्बौं रुपैयाँ पाउनेछ। आयोजना बनाउन एक खर्ब १५ अर्ब लाग्ने अनुमान गरिएको छ।