साउनमा वैदेशिक व्यापार घाटा १ खर्ब १६ अर्ब, ‘स्मार्टफोन’ मात्रै ३ अर्ब ४६ करोडको आयात

साउनमा नेपालले एक खर्ब २८ अर्ब ३७ करोड ७१ लाख रुपैयाँ बराबरको वस्तु आयात गर्दा १२ अर्ब २२ करोड ६१ लाख रुपैयाँको मात्रै निर्यात गरेको छ।

काठमाडौँ– चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना नेपालले कुल एक खर्ब ४० अर्ब ६० करोड ३२ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गर्दा एक खर्ब १६ अर्ब १५ करोड रुपैयाँको घाटा बेहोरेको छ।

भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो महिनाको वैदेशिक व्यापारसम्बन्धी तथ्यांकअनुसार गत साउनमा नेपालले एक खर्ब २८ अर्ब ३७ करोड ७१ लाख रुपैयाँ बराबरको वस्तु आयात गर्दा १२ अर्ब २२ करोड ६१ लाख रुपैयाँको मात्रै निर्यात गरेको हो। 

विभागका अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलना चालु आर्थिक वर्षको पहिलो महिनामा आयात ०.६७ प्रतिशतले घटेको छ। निर्यात भने ९.६३ प्रतिशतले घटेको छ। गत साउन महिनामा नेपालले भारतसँग मात्र ७० अर्ब १० करोड ४२ लाख रुपैयाँ बराबरको व्यापार घाटा बेहोरेको विभागले जनाएको छ। 

चालु आर्थिक वर्षका पहिलो महिना भारतबाट ७७ अर्ब ६८ करोड ३१ लाख रुपैयाँ बराबरको आयात हुँदा सात अर्ब ५७ करोड ८८ लाख रुपैयाँको निर्यात भएको हो।

नेपालले दोस्रो ठूलो वैदेशिक व्यापार गर्ने अर्को छिमेकी मुलुक चीनसँग यस अवधिको व्यापार घाटा २४ अर्ब ३८ करोड ४७ लाख रुपैयाँ बराबर छ। गत साउनमा चीनबाट २४ अर्ब ५४ करोड २३ लाख रुपैयाँको आयात हुँदा १५ करोड ७६ लाख रुपैयाँ बराबरको मात्रै निर्यात भएको हो। कतार, युक्रेन, अस्ट्रेलिया, बहराइन, मलेसियालगायतका मुलुकसँग पनि नेपालको व्यापार घाटा उच्च छ।

चालु आर्थिक वर्षको पहिलो महिनामा नेपालले वैदेशिक व्यापार गरेका मुलुकहरूमध्ये १३  मुलुकसँग भने व्यापार नाफा छ। सबैभन्दा धेरै संयुक्त अधिराज्यसँग १८ करोड ३४ लाख ६६ हजार रुपैयाँ बराबर व्यापार नाफा देखिएको हो। अफगानिस्तान, बेल्जियम, रुस, मौरिससलगायत मुलुकसँग व्यापार नाफा देखिएको छ।

नेपालले बढी आयात गर्ने वस्तुहरूमा पेट्रोलियम पदार्थ, फलामजन्य वस्तु, स्मार्टफोन, कच्चा सूर्यमुखी तेललगायत छन्। गत एक महिनामा मात्र नेपालले ६ अर्ब ९८ करोड ७१ लाख रुपैयाँ बराबरको डिजेल, पाँच अर्ब ६९ करोड ३५ लाख बराबर रुपैयाँको पेट्रोल र चार अर्ब ८२ करोड ६६ लाख रुपैयाँ बराबरको खाना पकाउने ग्यास आयात भएको छ।

त्यस्तै, साउनमा तीन अर्ब ४६ करोड ६३ लाख रुपैयाँ बराबरको स्मार्टफोन आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ। नेपालले बढी निर्यात गरेका वस्तुहरूमा भने कार्पेट, चिया, स्टिल, धागोलगायत छन्। गत साउनमा नेपालले एक अर्ब ११ करोड ७५ लाख रुपैयाँ बराबरको कार्पेट निर्यात गरेको छ।