नेताहरूको सम्पत्ति छानबिनसहितका माग राखेर बालुवाटारमा प्रदर्शन (तस्वीहरू)

गिरिबन्धुलगायतका अनियमिततामा यथाशीघ्र निष्पक्ष अनुसन्धानका साथै सबै शीर्ष नेताको सम्पत्ति छानबिन गर्न स्वतन्त्र नागरिक आयोग गठनको माग गर्दै बालुवाटारमा प्रदर्शन गरिएको छ।

तस्वीरहरू - नेपाल फोटो लाइब्रेरी

काठमाडौँ– राजनीतिक बेथितिविरुद्ध प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार क्षेत्रमा विरोध प्रदर्शन गरिएको छ। सम्पूर्ण सामाजिक, आर्थिक, राजनीतिक बेथितिविरुद्ध बृहत् आन्दोलनको ब्यानरमा शनिबार विरोध प्रदर्शन गरिएको हो।

प्रदर्शनमा सहभागीहरूले ⁠भ्रष्टाचारीलाई जोगाउने नियतले ल्याइएको पाँचवर्षे हदम्याद खारेज गर्न माग गरेका छन्। त्यस्तै, गिरिबन्धु, भुटानी शरणार्थी, ललिता निवास लगायतका अनियमितता काण्डमा यथाशीघ्र निष्पक्ष अनुसन्धानको माग गरेका छन्।

त्यस्तै, ⁠बैंक सहकारी, लघुवित्त मिटरव्याजी पीडितका समस्या तुरुन्त सम्बोधन, सबै शीर्ष नेताका सम्पत्ति छानबिन गर्नको निम्ति नागरिकका तर्फबाट स्वतन्त्र नागरिक आयोग गठन, विद्युत् प्राधिकरणले विभिन्न व्यापारीबाट उठाउनुपर्ने २२ अर्ब २४ करोड बक्यौता तुरुन्त असुल गर्नुपर्ने माग उनीहरूले राखेका छन्। ⁠

विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित, ⁠वैदेशिक रोजगारको क्रममा विभिन्न माध्यमबाट पीडित भएका सम्पूर्ण नागरिकका समस्या समाधान, ⁠किसान गरिब मजदुर विपन्न वर्ग तथा फरक क्षमता भएका सबै नागरिकको भविष्य स्वदेशमै सुनिश्चित गर्न माग गरेका छन्।