बस दुर्घटनाबारे भारतका खेलकुद राज्यमन्त्रीलाई ‘ब्रिफिङ’

नेपालको आकस्मिक भ्रमणमा रहेकी भारतीय खलकुद राज्यमन्त्री खड्सेले त्रिवि शिक्षण अस्पतालमा उपचाररत घाइतेको अवस्थाबारे जानकारीसमेत लिएकी थिइन्।

काठमाडौँ– आफ्नो देशका २७ जना नागरिकको बस दुर्घटनामा निधन भएपछि नेपालको आकस्मिक भ्रमणमा रहेकी भारतका युवा तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्सेलाई सुरक्षा निकायका अधिकारीले दुर्घटनाबारे जानकारी गराएका छन्।

गृहमन्त्री रमेश लेखकको उपस्थितिमा गृह मन्त्रालयमा ब्रिफिङ भएको हो। दुर्घटनाबारे जानकारी प्राप्त हुनासाथ उद्धारकर्मी परिचालन भएका तथा घाइतेलाई यथाशक्य चाँडो उद्धार गरेर अस्पताल पुर्‍याइएको गृहमन्त्रीले बताए। उनीहरूको उपचारमा कुनै कमीकमजोरी हुन नदिने व्यवस्था सरकारले मिलाएको जानकारी दिँदै मन्त्री लेखकले दुर्घटनाबाट नेपाल सरकार अति दुःखी भएको बताए। 

गृहमन्त्रीले नेपाल सरकारका तर्फबाट दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरे। साथै उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरे। 

त्यसअघि गृहमन्त्री लेखक र राज्यमन्त्री खड्सेले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत घाइतेको अवस्थाबारे जानकारी लिएकी थिइन्। उक्त अस्पतालको सघन उपचार कक्षमा तीन र अन्यको सामान्य वार्डमा उपचार भइरहेको छ‍। 

राज्यमन्त्री खड्सेले नेपाल सरकारबाट उद्धारदेखि उपचारसम्मका काममा भएको कुशल व्यवस्थापनप्रति आभार प्रकट गरिन्। “दुर्घटना मेरा आफन्तको पनि मृत्यु भएको छ,” उनले भनिन्, “उद्धारमा खटिने सम्पूर्ण सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलगायत सबैलाई धन्यवाद।” 

शुक्रबार पोखराबाट काठमाडौँतर्फ आइरहेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा दुर्घटना हुँदा २७ जनाको मृत्यु भएको थियो। दुर्घटनामा १६ जना घाइते भएका छन्।