तनहुँ दुर्घटना: २७ वटै शव भारत पठाइयो

तनहुँमा बस दुर्घटनामा परी ज्यान गुमाएका भारतीय पर्यटकको शव भारत पठाइएको छ। शुक्रबार आबुखैरेनीनजिकै सडकबाट मर्स्याङ्दी नदीमा बस खस्दा २७ जनाको मृत्यु भएको थियो।

चितवन– तनहुँको ऐनापहरामा बस दुर्घटनामा परेर मृत्यु भएकाहरूको शव भारत पठाइएको छ। भरतपुर अस्पतालमा परीक्षण सकेपछि भारतीय एयरफोर्सको जहाजमार्फत अपराह्न भरतपुर विमानस्थलबाट ती शव भारत पठाइएको हो। 

२७ मध्ये २५ शव जहाजबाट पठाइएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए। उनका अनुसार बसका चालक र सहचालकको शव भने स्थलमार्गबाट गोरखपुरतर्फ पठाइएको छ। शव लिन भारतकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षानिखिल खड्से भरतपुर आएकी थिइन्।

शव शुक्रबार राति आँबुखैरेनीबाट भरतपुर ल्याइएको प्रमुख जिल्ला अधिकारी यादवले बताए। उनका अनुसार पशुपतिनाथ दर्शन गर्न जाँदै गरेको भारतीय पर्यटक बोकेको बस शुक्रबार बिहान तनहुँको आबुखैरेनीनजिकै सडकबाट मर्स्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको हो। मृतकमध्ये १५ महिला, ११ पुरुष र चार वर्षीया बालिका रहेकी छन्। घाइते हुनेमा ६ पुरुष र १० महिला छन्।

प्रहरीका अनुसार बसमा ४३ जना सवार थिए। घाइतेको काठमाडौँको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल उपचार भइरहेको छ। मृतक र घाइते भारतको महाराष्ट्रको जलगाउँ जिल्लास्थित भुसावल गाउँका रहेका प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिए। 

पोखराबाट काठमाडौँ जाँदै गरेको युपी ५३ एसटी ७६२३ नम्बरको बस आँबुखैरेनी नजिकैबाट मर्स्याङ्दीमा खसेको थियो। दुर्घटनालगत्तै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले उद्धार गरेका थिए।