बेदुराम भुसाललाई प्रश्न– के एकीकृत समाजवादीले माओवादीसँग एकता गर्न लागेको हो?

नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले माओवादी केन्द्रसँग एकता गर्न लागेको भनेर सञ्चारमाध्यमले भ्रम सिर्जना गरेको र त्यसमा कुनै सत्यता नभएको दाबी गरेका छन्।

प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको सम्पूर्ण नतिजा र समानुपातिकतर्फको अधिकांश मतपरिणाम सार्वजनिक भइसकेको छ। यसपालिको निर्वाचन नतिजा धेरै हिसाबले चर्चामा रह्यो। प्रमुख पार्टीहरूको खस्केको परिणाम र मत मात्र होइन, पहिलोपटक सहभागी नयाँ दलले ल्याएको चमत्कारिक परिणामले पनि यो निर्वाचनलाई पहिलेभन्दा बेग्लै बनायो। तर, पछिल्लो चर्चा भने नेकपा एकीकृत समाजवादीलाई लिएर ज्यादा छ। नेकपा एमालेबाट विभाजन भएर बनेको यो पार्टीका उम्मेदवार सत्तागठबन्धनमा रहेर प्रत्यक्षतर्फ प्रतिनिधिसभाका १० क्षेत्रमा विजयी भए पनि समानुपातिक मततर्फ ३ प्रतिशतको ‘थ्रेसहोल्ड’ पार गर्न नसक्दा एकीकृत समाजवादी राष्ट्रिय पार्टी नबन्ने लगभग निश्चित देखिन्छ।

योसँगै एकीकृत समाजवादीको भविष्यलाई लिएर समेत थुप्रै टीकाटिप्पणी हुन थालेका छन्। कतिपयले अब पार्टी नै विघटनको बाटोमा जाने, धेरै नेता कार्यकर्ता एमालेमै फर्कने बताइरहेका छन्। पछिल्ला केही घटना क्रमले एकीकृत समाजवादी नेकपा माओवादी केन्द्रसँग एकतामा जाने चर्चा पनि भइरहेको छ। के एकीकृत समाजवादीले माओवादी केन्द्रसँग एकता गर्न लागेको हो? होइन भने यो पार्टी राष्ट्रिय राजनीतिमा अब कहाँनेर अडिएला? एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालसँग उकालोले गरेको संक्षिप्त कुराकानी:

नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रबीच पार्टी एकीकरण हुने प्रक्रिया अगाडि बढेको हो?
नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच पार्टी एकीकरणका विषयमा अहिलेसम्म कुनै छलफल भएको छैन। त्यस्तो बहस पनि छैन। यसबारेमा कुनै बैठक पनि भएको छैन। खाली अनुमानका आधारमा नचाहिने कुरा मात्र किन मिडियामा आइरहेका छन्, मैले बुझ्न सकेको छैन। यत्तिकै कसले हावा चलाइरहेको छ। कसले भ्रम फैलाइरहेको छ।

निर्वाचनभन्दा केही समयअघि त पार्टी एकीकरणका लागि भनेर एकता संयोजन समिति नै बनाउनु भएको थियो नि?
चुनावअघि पनि त्यस्तो गर्ने भनेर हामीले कहिले भनेकै छैनौँ। तपाईंहरू पनि के के बुझ्नुहुन्छ? मिडियाका साथीहरू केही कुरै नबुझी लेखिरहनुभएको छ। कतिपय कुरा आवश्यकताभन्दा धेरै बुझेर पनि समस्या भएको छ। हामीले पार्टी एकता संयोजन समिति बनाउने भनेका थियौँ। पार्टी एकीकरणका लागि छलफल र वार्ता गर्नका लागि समिति बनाउने भनेका हौँ। त्यो भनेको माओवादीसँग होइन, विचार मिल्ने वामपन्थी पार्टीहरूबीच एकताका लागि पहल गर्ने भन्ने हो। तर, त्यो समिति नै बनेन। समिति बनेर कहिल्यै यसबारे छलफल भएको तपाईंले सुन्नुभयो र? अनि यत्तिकै माओवादीसँग एकता गर्ने भनेर नभएको कुरा बुझेर हुन्छ?

त्यसो भए विज्ञप्ति नै निकालेर स्पष्टीकरण दिनुपर्ने आवश्यकता किन पर्‍यो?
हाम्रा बारेमा अनावश्यक भ्रम फैलाइयो। भ्रम फैलाइएपछि प्रष्ट पार्नुपरेन? त्यसका लागि विज्ञप्ति निकाल्नु परेन? सारा मिडियाले एकता हुने भयो रे भनेर भ्रम फैलाएपछि त्यो कुरा गलत हो है भन्नुपरेन? हामीले त्यो चर्चामा कत्ति पनि सत्यता छैन भनेर स्पष्टीकरण दिएको हो। भ्रम फैलाइएपछि त्यसलाई स्पष्ट पार्न विज्ञप्ति जारी गरेको हो।

तपाईंले होइन भन्नुभयो। तर, तपाईंकै पार्टीका स्थायी कमिटी सदस्यहरूले माओवादीसँग पार्टी एकता गर्न भित्र-भित्रै तयारी गरिएको भन्दै त्यसमाथि सार्वजनिक रूपमै असन्तुष्टि व्यक्त गर्नुभएको छ नि?
कसैले त्यसो गर्नुभएको छ भने त्यो उहाँको व्यक्तिगत कुरा होला। त्यो पार्टीको संस्थागत कुरा हुँदै होइन। व्यक्तिगत रूपमा भित्र-भित्र कसले के गर्छ, त्यो पार्टीको कुरा हुँदैन। त्यो त व्यक्तिको कुरा भइहाल्यो नि।

पार्टी एकताको चर्चा चल्न थालेपछि कार्यकर्ताहरू एमालेमा फर्किन थाले भनेर त्यो कुरा होइन भनिएको हो भन्ने छ नि?
हाम्रो पार्टीबाट कोही पनि एमालेमा फर्केका छैनन्। त्यस्तो केही भएको पनि छैन। अब भ्रम नै फैलाइएपछि त के गर्न सकिन्छ र।

निर्वाचनबाट एकीकृत समाजवादी राष्ट्रिय पार्टी पनि बन्ने सम्भावना देखिएन। अब यो पार्टी कहिलेसम्म रहला त
हामी एकीकृत समाजवादी पार्टी भएरै रहन्छौँ। अहिले कोहीसँग हाम्रो पार्टी एकीकरण हुँदैन। एकीकृत समाजवादी अहिलेभन्दा अझ व्यवस्थित र सशक्त रूपमा अघि बढ्छ।