डुबेर १ बालकसहित चार जनाको मृत्यु

सर्लाहीको ईश्वरपुर नगरपालिका–५ सखुवनीमा क्रसरले खनेको खाल्डोमा डुबेका किशोरको शव सशस्त्र प्रहरी बलको गोताखोर टोलीले निकालेको छ। 

काठमाडौँ– देशका विभिन्न स्थानमा डुबेर एक बालकसहित चार जनाको मृत्यु भएको छ। खाल्डो, पोखरी तथा खोलामा डुबेर कपिलवस्तु र सर्लाहीमा दुई/दुई जनाको मृत्यु भएको हो।

सर्लाहीको ईश्वरपुर नगरपालिका–५ सखुवनीमा क्रसरले खनेको खाल्डोमा डुबेका किशोरको शव सशस्त्र प्रहरी बल नेपालको गोताखोर टोलीले निकालेको छ। 

शनिबार फुटबल खेल्न साथीसँगै आएका सोही नगरपालिका–४ सागरनाथका १७ वर्षीय निशान थापामगरको नुहाउने क्रममा खाल्डोमा डुबेर मृत्यु भएको थियो। 

नुहाउन भनेर फूलजोर खोलानजिकै नदीजन्य पदार्थ उत्खनन गर्न क्रसरले खनेको खाल्डोमा पसेका मगरको डुबेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए।

खाल्डो गहिरो भएकाले शव निकाल्न नसकेपछि सशस्त्र प्रहरीको गोताखोर टोली बोलाइएको थियो। सशस्त्र प्रहरी बल नेपालको बर्दिबासस्थित छिन्नमस्ता बाहिनीबाट आएको गोताखोर टोलीले शव निकालेको सशस्त्र प्रहरी उपरीक्षक विनोदराज खनालले जानकारी दिए। गोताखोर टोलीले ३० मिटरभन्दा धेरै गहिरो खाल्डोबाट शव निकालेको थियो।

त्यस्तै, ब्रह्मपुरी गाउँपालिकामा पोखरीमा नुहाउन गएका एक बालकको डुबेर मृत्यु भएको छ। ब्रह्मपुरी गाउँपालिका–२, निवासी सञ्जय साहको छोरा ६ वर्षीय अंकित साहको शनिबार बिहान पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। 

बिहान ९ बजेतिर नुहाउन भनी घरबाट निस्किएका बालकको घर नजिकै रहेको रामजानकी मठको पोखरीमा डुबेर मृत्यु भएको प्रहरी प्रवक्ता श्रेष्ठले जानकारी दिए। 

मृतक बालकको शव गाउँलेले पानीबाट निकालेर पोखरीको डिलमा राखिरहेको भन्ने सूचना पाएपछि प्रहरी घटनास्थलमा पुगेको थियो। घटनास्थलको प्रकृति मुचुल्का गरी शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलंगवामा ल्याइएको छ।

त्यस्तै, कपिलवस्तुको वाणगंगा नगरपालिका–८ ढोडेकोलमा खोलामा डुबेर दुई जनाको मृत्यु भएको छ। शनिबार फुटबल खेलेर नुहाउन गएका दुई किशोरको कोइली खोलाको भूते रहमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा १६ वर्षीय प्रतीक भण्डारी र १५ वर्षीय सरोज सापकोटा रहेका छन्।  खोलामा डुबेको देखेपछि स्थानीय र साथीहरूले तत्काल प्रहरीलाई खबर गरेका थिए। प्रहरीले उद्धार गरेर नजिकैको अस्पताल पुर्‍याइएकामा अस्पतालले मृत घोषित गरेको जनाइएको छ। राससको सहयोगमा