कैलाश मानसरोवर जाने सडक अवरुद्ध, सयौँ यात्रु बाटोमै रोकिए

केरुङ खोलामा आएको बाढीले सडक कटान गरी सवारी आवागमन बन्द हुँदा कैलाश मानसरोवरबाट फर्किएका र जाँदै गरेका यात्रु प्रभावित भएका छन्।

रसुवा– वर्षाका कारण चीनतर्फको सडकमा क्षति हुँदा कैलाश मानसरोवर दर्शनका लागि जाने दर्शनार्थी प्रभावित भएका छन्।

रसुवाका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले रसुवागढीको मितेरिपुलबाट पाँच किलोमिटर उत्तर चिनियाँ भूभागअन्तर्गत केरुङ खोलामा आएको बाढीले सडक कटान गर्दा सवारी आवागमन बन्द भएको जानकारी दिए। 

यातायातका साधन बन्द भएपछि कैलाश मानसरोवरबाट नेपाल फर्किन लागेका करिब ५०० यात्रु केरुङमा र तीर्थ जाँदै गरेका १०० यात्रु रसुवागढीमा रोकिएका छन्।

उनीहरूको सहयोगार्थ नेपाल प्रहरी र सशस्त्र प्रहरी बल २० नं गुल्म रसुवाले समन्वय गरिरहेको प्रमुख जिल्ला अधिकारी खनालले जानकारी दिए।

राजधानी काठमाडौँदेखि केरुङसम्म करिब १७१ किमी दूरी रहेको छ। चाँडो सडक खुलाई कैलाश दर्शनका लागि हिँडेका यात्रुलाई सहज पारिदिन केरुङ प्रशासकलाई अनुरोध गरिसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

टिमुरे क्षेत्रमा रोकिएका यात्रुहरूको सहयोगका लागि नेपाल प्रहरीले समन्वय गरिरहेको प्रहरी नायब उपरीक्षक केशव भट्टराईले जानकारी दिए।