सुनकोशीमा खसेको कारसँगै ३ जना बेपत्ता

गाडीमा सवार चार जनामध्ये तीन जना बेपत्ता भएका र उनीहरूको खोजीका लागि ४० जनाको टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

काठमाडौँ – मध्यपहाडी लोकमार्गमा गुडिरहेको कार अनियन्त्रित भई सिन्धुलीस्थित सुनकोशी नदीमा खस्दा भक्तपुरका तीन जना बेपत्ता भएको छन्।

शनिबार साँझ खोटाङबाट भक्तपुर गइरहेको हाइलेक्स कार सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ कुडुलेमा अनियन्त्रित भएर नदीमा खसेको हो। गाडीमा सवार चार जनामध्ये तीन जना बेपत्ता भएका हुन्। एक जनाको उद्धार गरी अस्पताल लगिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार नदीमा खसेको गाडीको नम्बर खुलेको छैन। गाडी चालक सूर्यविनायक नगरपालिकाका ३२ वर्षीय अबिन बके, ३० वर्षीय प्रनित स्यागु र ३७ वर्षीय बलराम घटुवा बेपत्ता भएका हुन्।

घाइते २७ वर्षीय सुशान्त कक्षपतिको स्थानीय शुभजीवन अस्पताल खुर्कोटमा उपचार भइरहेको छ। 

नदीमा खसेर बेपत्ता भएको गाडीसहित सवार यात्रीको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। उनीहरूको खोजीको लागि घटनास्थलमा हाल ४० जना प्रहरीको टोली खटिएको प्रहरी उपरीक्षक काफ्लेले जानकारी दिए।

सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस, खुर्कोटबाट गोताखोरसहित टोली घटनास्थल पुगेर गाडी र हराइरहेकाहरूको खोजी थालेको छ।