इजरायलमा ४८ घन्टाका लागि संकटकाल घोषणा

इजरायलका रक्षामन्त्री योव ग्यालान्टले संकटकाल घोषणा गरेका हुन्। तनाव बढेसँगै इजरायली नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

लेबनानसँगको बढ्दो तनावका बीच इजरायलले आगामी ४८ घण्टाका लागि संकटकाल घोषणा गरेको छ ।

इजरायलका रक्षामन्त्री योव ग्यालान्टले संकटकाल घोषणा गरेका हुन्। यसले इजरायली रक्षा बल (आईडीएफ) को आन्तरिक मोर्चाको नेतृत्वलाई प्रतिबन्ध जारी गर्न सहज हुनेछ। 

मन्त्रीपरिषद्ले विस्तार नगरेसम्म यो अवस्था ४८ घण्टाका लागि मान्य हुनेछ। इजरायलमा तनाव बढ्दै गएको छ। यस क्षेत्रमा थप जोखिम बढेसँगै इजरायली नागरिकलाई उच्च सतर्कता अपनाउन इजरायली डिफेन्स फोर्स (आईडीएफ) का प्रवक्ता रियर एडमिरल डेनियल हागारीले आग्रह गरे। 

“हिजबुल्लाहले दक्षिणी लेबनानबाट नजिक इजरायली क्षेत्रमा आक्रमण गरिरहेको छ। यसको बदलामा इजरायलले हिजबुल्लाहमाथि आक्रमण गर्ने तयारी गरिरहेको छ,” उनले भने, “तसर्थ हामी उक्त क्षेत्रमा रहेका लेबनानी नागरिकलाई तुरुन्तै स्थान खाली गर्न आग्रह गरेका छौँ।” 

गत महिना तेहरानमा हमासका राजनीतिक नेता इस्माइल हानिया र लेबनानमा हिजबुल्लाह कमान्डर मारिएपछि इरानले इजरायलसँग बदला लिने चेतावनी दिएको थियो। इरानको सम्भावित आक्रमणविरुद्ध  इजरायलले कडा प्रतिशोधको तयारी गरिरहेको छ।