झन्डै ८० अंकले घटेर २९ सयको विन्दुभन्दा तल झर्‍यो नेप्से

शेयर बजार परिसूचक नेप्सेमा साताको पहिलो कारोबार दिन ठूलो अंकको गिरावटका साथ करेक्सन आएको छ।

काठमाडौँ– शेयर बजार परिसूचक नेप्सेमा साताको पहिलो कारोबार दिन ठूलो अंकको गिरावटका साथ करेक्सन आएको छ। आज नेप्से ७९.८८ अंकले घटेर २८९४.५७ विन्दुमा झरेको छ।

शुरूमा सामान्य बढेको नेप्से बजार बन्द हुने बेलामा उच्च अंकले घटेको हो। आज माइक्रो फाइनान्सबाहेक सबै उप–समूहको शेयर घटेको छ। बैंक, बीमा, उत्पादन, जलविद्युत्, लगानी र अन्य उपसमूहमा ३ प्रतिशतभन्दा धेरैको गिरावट देखिएको छ। 

सबैभन्दा धेरै मन्दाकिनी हाइड्रोपावर कम्पनीको शेयर ९.९१ प्रतिशतले घटेको छ। यस्तै केबीएल डेबिन्च्युर पनि ९.९ प्रतिशतले ओरालो लागेको छ। घटेको बजारमा विन नेपाल लघुवित्त, उपकार र आत्मनिर्भर लघुवित्त कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ।

तीन सय ३३ वटा कम्पनीका चार करोड २६ लाख कित्ता शेयर १९ अर्ब ७४ करोड रुपैयाँमा कारोबार भएका छन्। आज सबैभन्दा धेरै अपि हाइड्रो कम्पनीको कारोबार भएको छ। एक्लै यस कम्पनीले ८४ करोड ६८ लाख रुपैयाँको कारोबार गरेको नेपाल धितोपत्र बोर्डले जनाएको छ।