साफ यु२० : ‘टाइब्रेकर’मा भुटानलाई पराजित गर्दै नेपाल फाइनलमा

पहिलो सेमिफाइनलमा नेपाल ‘टाइब्रेकर’मा भुटानलाई ४–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको छ।

काठमाडौँ– भुटानलाई पराजित गर्दै नेपाल साफ यु२० च्याम्पियनसिपको फाइनलमा पुगेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार भएको पहिलो सेमिफाइनलमा नेपालले ‘टाइब्रेकर’मा भुटानलाई ४–१ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।

नेपालका गोलकिपर जियारथ शेखले टाइब्रेकरमा भुटानका तीन खेलाडीको प्रहार बचाएपछि नेपालको जित सुनिश्चित भएको हो।

टाइब्रेकरको पहिलो प्रहारमा नेपालका लागि राम थापा र भुटानका जेत्सन दोर्जीले गोल गरे। त्यसपछि दोस्रो प्रहारमा नेपालका अभिनाश स्याङ्तानले गोल गर्दा भुटानका जिग्मे नाम्गेलको प्रहार बाहिरियो।

त्यस्तै, नेपालका सिमान्त थापाले तेस्रो प्रहारमा गोल गर्दा भुटानका उग्वेन जिग्मेको प्रहार जियारत शेखले नै बचाए। चौथो प्रहारमा जियारतले गोल गर्दै नेपाललाई फाइनल पुर्‍याए।

त्यसअघि खेलको निर्धारित ९० मिनेटमा दुवै टोलीले १–१ गोल गरेका थिए। खेलको ५६औँ मिनेटमा भुटानले अग्रता लिएको थियो। जेत्सन दोर्जीले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको गोल भएको थियो। 

भुटान  खेलको ७७औँ मिनेटमा १० खेलाडीमा सीमित बन्यो। भुटानका किन्जाङ तेन्जिङलाई रेफ्रीले रातो कार्ड देखाउँदै बाहिर पठाएका थिए। किन्जाङले नेपालका खेलाडीमाथि फाउल गरेका थिए।

खेलको ७८औँ मिनेटमा नेपालले बराबरी गोल फर्कायो। रातो कार्डपछि नेपालले पाएको फ्रिकिक बलबाट आएको पासबाट नीराजन धामीले करिब सिक्स यार्ड बक्समा हेड गर्दै बललाई जाली चुमाए।

च्याम्पियनसिपको दोस्रो सेमिफाइनलमा भोलि भारत र बांग्लादेशबीच प्रतिस्पर्धा हुनेछ।