मनसुन शुरू भएयता बाढीपहिरो परी मृत्यु हुनेको संख्या २०३ पुग्यो

जेठ २८ गतेयता बाढीपहिरो लगायतका विपद्मा परेर ५४ जना बेपत्ता भएका छन् भने ६ हजार ४४ घरपरिवार विस्थापित भएका छन्।

काठमाडौँ– जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको वर्षासँगै आएको बाढीपहिरो लगायतका विपद्मा परी आइतबार दिउँसोसम्म २०३ जनाको मृत्यु भएको छ।

बाढीपहिरो लगायतका विपद्मा परी काठमाडौँ उपत्यकामा ३ जना, कोशीमा २८, मधेशमा आठ, बागमतीमा ४२, गण्डकीमा ५६, लुम्बिनीमा ३७, कर्णालीमा १३ र सुदूरपश्चिममा १६ जनाको मृत्यु भएको  केन्द्रीय प्रहरी प्रवक्ता दानबहादुर कार्कीले जानकारी दिए।

यो अवधिमा काठमाडौँ उपत्यकामा ११ जना, कोशीमा ३८, मधेशमा १२, बागमतीमा २८, गण्डकीमा ४७, लुम्बिनीमा १९, कर्णालीमा ६२ र सुदूरपश्चिममा ३४ जना गरी २५१ जना घाइते भएको प्रहरीको तथ्यांक छ।

प्रहरीले विपद्मा परेका २१० जनाको उद्धार गरेको छ। काठमाडौँ उपत्यकामा २८ जना, कोशीमा ४९, बागमतीमा १२, गण्डकीमा १४, लुम्बिनीमा चार, कर्णालीमा दुई र सुदूरपश्चिममा १०१ जनाको उद्धार गरेको प्रहरीको भनाइ छ।  

केन्द्रीय प्रहरी प्रवक्ता कार्कीका अनुसार बाढीपहिरोमा परी कोशीमा तीन, मधेशमा एक, बागमतीमा ४५, गण्डकी दुई, लुम्बिनीमा एक, कर्णालीमा एक र सुदूरपश्चिममा एक गरी ५४ जना बेपत्ता भएका छन्। बेपत्ताको खोजी कार्य जारी रहेको उनको भनाइ छ।

बाढीका कारण जम्मा ४०८ घर डुबानमा परेका छन्। ३६४ वटा घर, १२३ वटा गोठ, ५२ वटा पुल, ६ वटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको छ। यो अवधिमा ९२४ वटा पशुचौपाया मरेको प्रहरीको तथ्यांक छ। केन्द्रीय प्रहरी प्रवक्ता कार्कीका अनुसार यो अवधिमा विपद्का घटनाबाट ६ हजार ४४ घरपरिवार विस्थापित भएका छन्।