खनिज इन्धनले वातावरणमा पार्ने प्रतिकूल प्रभाव न्यूनीकरण गर्न भन्दै उद्योग मन्त्रालयले पेट्रोलमा बायो इथानोल मिश्रण गरी बिक्री गर्नुपर्ने व्यवस्था गरेको छ।
काठमाडौँ– बायो इथानोल उत्पादन तथा प्रयोगका लागि आवश्यक प्रबन्ध मिलाउन प्रतिनिधिसभाअन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सरकारलाई निर्देशन दिएको छ।
समितिको आइतबारको बैठकले नेपालमा बायो इथानोल उत्पादकसँग तोकिएको गुणस्तर तथा मूल्यमा बायो इथानोल खरिद सम्झौता गरी आन्तरिक उत्पादन, वैदेशिक मुद्रा सञ्चिति र रोजगारीका साथै कुल गार्हस्थ्य उत्पादन बढाउन सकिने भन्दै यस्तो निर्देशन दिएको हो।
समिति सभापति अब्दुल खानले स्वदेशी उत्पादकलाई आह्वान गरी बायो इथानोलको उत्पादन तथा प्रयोगमा ल्याउन निर्देशन दिने निर्णय भएको जनाए।
खनिज इन्धनमा रहेको परनिर्भरतालाई घटाउन तथा यसको प्रयोगबाट वातावरणमा पर्न गएको प्रतिकूल प्रभावलाई न्यूनीकरण गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विसं २०६० मंसिर महिना २९ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी पेट्रोलमा इथानोल मिश्रण गरी बिक्री गर्नुपर्ने व्यवस्था गरेको छ। सोही व्यवस्थाअनुसार निगमले ‘पेट्रोलमा इथानोल मिश्रणसम्बन्धी विनियमावली, २०८१’ तयार पारेको छ।
विनियमावलीले इथानोल भन्नाले उखु, न्यापिर घाँस, सिमल तरुल, सजिवनजस्ता कार्बोहाइड्रेटयुक्त जैविक प्राकृतिक स्रोतबाट प्राप्त हुने कच्चापदार्थलाई कुहाएर अल्कोहलमा परिणत गरी पेट्रोलियम पदार्थमा मिश्रण गर्न सकिने वा बायो इथानोल सम्झनुपर्छ भनेको छ।
इथानोल स्रोतका रूपमा न्यापियर घाँस, सिमल तरुल, बाज्रा सजीवन, उखु र चिनी कारखानाबाट निस्कने खुदो, सुइरो घाँस, मकैको ढोड, धानको पराल तथा भुस, गहुँको छ्वाली, चामल उद्योगबाट प्राप्त हुने कनिकालगायतका वस्तु प्रयोग हुने गरेका छन्। उखु, चुकन्दर, जौ, आलु, चामल, मकैबाट पनि इथानोल उत्पादन गर्न सकिन्छ।
समितिका सांसदले पेट्रोलमा इथानोलमा मिसाउने विषयमा छलफल चलेको वर्ष दिन बित्दा पनि कार्यान्वयनमा किन ढिलाइ भनेर प्रश्न उठाउनुका साथै छिटो कार्यान्वयनमा ल्याउनुपर्ने राय राखे।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुसुदन बुर्लाकोटीले इथानोल आवश्यक रहेको बताउँदै भने, “अभ्यासअनुसार १० देखि २० प्रतिशत इथानोल मिसाउने अभ्यास छ। यही महिनाभित्र सरोकारवालाहरूसँग छलफल गर्छौं। असोज महिनाभित्र कार्यविधि पारित गर्छौं। कात्तिक दोस्रो साताबाट सूचना निकाल्छौँ।”
नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र रहेको निगमको इन्धन भण्डारणको स्थानान्तरणका सम्बन्धमा जग्गा उपलब्ध नभइसकेकाले काम अघि बढाउन नसकेको प्रस्ट्याए।
इथानोलको उत्पादक कियान केमिकल इन्डस्ट्रिज प्रालिका संस्थापक सदस्य दिनेश पौडेलले उत्पादनका लागि सबै सम्भाव्यता अध्ययन सकिएको र निगमको स्वीकृतिको पर्खाइमा रहेको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
