मर्स्याङ्दीमा खसेको बस निकाल्न मुग्लिन-आँबुखैरेनी सडक ४ घण्टा बन्द गरिने

मुग्लिन-आँबुखैरेनी सडकखण्ड बन्द गरेर मर्स्याङ्दी नदीमा खसेको बस निकाल्न लागिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

तनहुँ– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन सडकखण्ड चार घण्टा अवरुद्ध हुने भएको छ।

आँबुखैरेनी-२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार खसेको भारतीय नम्बर प्लेटको बस निकाल्न सोमबार बिहान ६ः३० देखि चार घण्टा उक्त सडकमा सवारी आवागमन बन्द गर्न लागिएको हो।

राजमार्गमा सवारी चापका कारण काम गर्न असहज भएपछि सडक बन्द गरेर नदीमा खसेको बस निकाल्न लागिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिए।

क्रेनको सहायताबाट बस निकाल्ने प्रयास गरिए पनि दश मिटर मात्रै तानिएको उनको भनाइ छ। “सडक बन्द नगर्दा काम गर्न अप्ठ्यारो हुने भएकाले चार घण्टा सवारी आवागमन रोकिनेछ,“ उनले भने।

पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बस नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो। दुर्घटनामा घाइते १६ जनाको काठमाडौँस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ। बेपत्ता एक जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ।