पाकिस्तानको बलुचिस्तानमा बन्दुकधारी समूहद्वारा २३ यात्रुको हत्या

पाकिस्तानको बलुचिस्तान प्रान्तमा बन्दुकधारीले बसमा यात्रा गरिरहेका यात्रुलाई झारेर गोली हान्दै हत्या गरेका हुन्। 

पाकिस्तानको बलुचिस्तान प्रान्तमा बन्दुकधारीले बसमा यात्रा गरिरहेका २३ जनाको गोली हानेर हत्या गरेका छन्। 

यो घटना बलुचिस्तानको मुसाखेल जिल्लाको हो। प्रहरी नियन्त्रणमा रहेकै क्षेत्रमा गएराति गोली चलेको पाकिस्तानी सञ्चार माध्यम डनले जनाएको छ। ज्यान गुमाउनेमध्ये तीन जना बलुचिस्तानकै र बाँकी पन्जाब प्रान्तका छन्। घाइते पाँच जनामध्ये एक जनाको अवस्था चिन्ताजनक रहेको स्थानीय प्रहरीले जनाएको छ।

समाचारमा उल्लेख भएअनुसार केही अज्ञात व्यक्तिहरूले पन्जाब र बलुचिस्तानको बीचमा चलिरहेका ट्रक र बसहरूलाई रोकेका थिए। त्यसपछि त्यसमा सवार यात्रुलाई तल झारेर गोली प्रहार गरेका हुन्। उनीहरूले यात्रुको परिचयपत्र जाँच गर्दै बलोच नभएकाहरूलाई गोली हानेको बताइएको छ।

यस आक्रमणको जिम्मेवारी चरमपन्थी समूह बलोच लिबरेसन आर्मीले लिएको छ र उसले प्रान्तका विभिन्न क्षेत्रबाट सडक अवरुद्ध गरेको जनाएको छ।

सरकारी अधिकारीका अनुसार बन्दुकधारीहरूले कैयौँ गाडीमा आगजनीसमेत गरेका छन्। पछिल्लो २४ घण्टामा बलुच लिबरेसन आर्मीले धेरै सरकारी भवनमा क्षतिसमेत पुर्‍याएको छ।

यसअघि शनिबार र आइतबारको मध्यरातमा बलुचिस्तानका विभिन्न क्षेत्रबाट बम विस्फोट भएको खबर आएको थियो। कलात शहरमा भएको आक्रमणमा त्यहाँका सहायक आयुक्त पनि घाइते भएका छन् भने जिउनीस्थित प्रहरी चौकीबाहिर तीन वटा गाडीमा आगजनी गरिएको छ।

मस्तुङ जिल्लाको खाड कोचा क्षेत्रमा पनि अज्ञात बन्दुकधारीले प्रहरी चौकीमा आक्रमण गरेका छन्।

बलुचिस्तानका मुख्यमन्त्रीले पछिल्लो घटनाबारे रिपोर्ट मागेका छन्। मुख्यमन्त्री मीर सरफराज बुग्तीले घटनाको निन्दा गरेका छन्। उनले आकस्मिक बैठक पनि बोलाएका छन्।