गौरापर्व विशेष समारोहमा नेताहरूविरुद्ध नाराबाजी

टुँडिखेलमा आयोजित गौरापर्वमा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवाको सम्बोधनका क्रममा उनीहरूविरुद्ध नाराबाजी भएको छ।

काठमाडौँ– सोमबार सैनिक मञ्च टुँडिखेलमा आयोजित गौरापर्व विशेष कार्यक्रममा नेताहरूविरुद्ध नाराबाजी भएको छ।

प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति देउवा लगायतका शीर्ष नेता उपस्थित भई सम्बोधन गरिरहेको कार्यक्रममा उनीहरूविरुद्ध नाराबाजी भएको हो। 

प्रधानमन्त्री ओली प्रमुख अतिथि र पूर्वप्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवा विशेष अतिथिका रूपमा कार्यक्रमलाई सम्बोधन गर्न आएका थिए।

बोल्दै गर्दा नाराबाजी भएपछि कांग्रेस सभापति देउवा आक्रोशित बने। “जति गर्ने हो गर्नूस्। जति कराउने हो, कराउनूस्,” आफूविरुद्ध नाराबाजी भएपछि उनले सम्बोधनका क्रममा भने।

गौरापर्व खेल्न र हेर्न आएकाहरूले कार्यक्रम बिथोल्न खोजेको भन्दै  देउवाले आक्रोश व्यक्त गरेका थिए। “यही हो नेपालको चलन? यही हो सिकेर आएको?” देउवाले भने, “कार्यक्रम बिथोल्ने, लाज छैन।”

नाराबाजीबीच देउवाले आफ्नो सम्बोधन जारी राखेका थिए। सभापति देउवाले सुदूरपश्चिम र कर्णालीको मौलिक चाड गौरापर्वले एकता र भातृत्वको सन्देश दिएको बताए।

कांग्रेस सभापति देउवाअघि प्रधानमन्त्री ओली बोल्दा पनि नाराबाजी भएको थियो। प्रधानमन्त्री ओलीले नेपाली समाज बहुसांस्कृतिक र शान्तिप्रेमी भएकाले यस समाजलाई बिथोल्ने र भड्काउने प्रयास सफल नहुने बताए।

उनले नेपालीपन भनेको मेलमिलाप र शान्तिपूर्ण भए पनि कतिपय नयाँ पुस्तामा सभ्यता, शिष्टता र मर्यादाको ख्याल नभएको देख्दा दुःख लागेको सुनाए।

प्रकृति, संस्कृति, सामाजिकता संरक्षण समूह (प्रशंसा)ले बर्सेनि काठमाडौँमा गौरापर्व विशेष कार्यक्रम गर्दै आइरहेको छ।