तनहुँ बस दुर्घटनाका १६ घाइतेमध्ये ७ जना ‘डिस्चार्ज’

तनहुँको आँबुखैरेनीमा भएको बस दुर्घटनामा घाइते भई त्रिवि शिक्षण अस्पतालमा उपचाररत १६ जनामध्ये सात जना ‘डिस्चार्ज’ भएका छन्।

काठमाडौँ– तनहुँको आँबुखैरेनीस्थित मर्स्याङ्दी नदीमा शुक्रबार बिहान भएको बस दुर्घटनामा घाइते भई काठमाडौँको महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत १६ जनामध्ये सात जनालाई सोमबार ‘डिस्चार्ज’ भएका छन्।

पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको भारतीय पर्यटक सवार यूपी ५३ एफटी ७६२३ नम्बरको भारतीय बस आँबुखैरेनीको ऐना पहरामा दुर्घटनामा परेको थियो।

“बस दुर्घटनामा घाइते भएका १६ जनालाई उपचारका लागि अस्पतालमा ल्याइएकामा आज सात जनालाई डिस्चार्ज गरेका छौँ, बाँकी नौ जनाको अस्पतालमै उपचार भइरहेको छ, सबैको अवस्था सुधारोउन्मुख छ,” अस्पतालका डा. रोहित सिंहले भने।

डिस्चार्ज हुनेमा ५६ वर्षीया भारती पाटील, ४२ वर्षीया वर्षाभङ्गाणे, ७० वर्षीया कुमुदिनी झाम्रे, ४९ वर्षीया रुपाली सरोदे, ५९ वर्षीय हेमराज सरोदे, ४५ वर्षीया निलिमा भिरुड, ६५ वर्षीय सुनिल धाण्डे रहेको अस्पतालले जनाएको छ।

बाँकी नौ जना घाइतेमध्ये चार जनाको आईसीयूमा उपचार भइरहेको छ। हाल ५१ वर्षीय प्रविन पाटील, ५३ वर्षीय अविनास पाटील, ५९ वर्षीय अनन्त इङ्णे, ४७ वर्षीया सिमा इङ्णे, ५८ वर्षीया आशा बोण्डे, ६२ वर्षीय नैनेश्वर बोण्डे, ५० वर्षीया शारदा पाटील, ४७ वर्षीया रेखा सुरवाडे तथा ५८ वर्षीया आशा पाटील उपचाररत रहेको अस्पतालले जनाएको छ।

“घाइतेहरू अधिकांशको हात, खुट्टा, निधार, टाउको, छाती, ढाडलगायतका ठाउँमा गहिरो चोट लागेको छ,” डा. सिंहले भने।

दुर्घटनामा २७ जना भारतीय पर्यटकहरूले ज्यान गुमाएका थिए। मृत्यु भएकाहरूको शव परीक्षण गरी भारतीय वायु सेनाको जहाजमार्फत भारत लगिएको छ। घाइतेलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौँ ल्याइएको थियो। भारतीय पर्यटकहरू यही भदौ ४ गते पशुपतिनाथको दर्शनका लागि काठमाडौँ आउँदै गर्दा दुर्घटनामा परेको थियो।