खोटाङमा सिँचाइपोखरीमा डुबेर २ बालबालिकाको मृत्यु

हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारमा सिँचाइपोखरीमा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ।

खोटाङ– हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारस्थित बाङमाका दुई बालबालिकाको सिँचाइपोखरीमा डुबेर मृत्यु भएको छ।

च्याम्टिारस्थित बाङमाका स्थानीय गइन्द्र राईको ६ वर्षीय छोरा संगम राई र तीन वर्षीया छोरी समृद्धि राईको सोमबार साँझ सिँचाइपोखरीमा डुबेर मृत्यु भएको हो। 

दिनभर घरैमा खेलिरहेका दाजुबहिनी बेलुकीपख हराएपछि खोजी गर्ने क्रममा घरदेखि केही पर रहेको भुतियाखोलानजिकै बनाइएको सिँचाइपोखरीमा डुबिरहेको अवस्थामा फेला पारिएको थियो।

बेलुका पौने ६ बजे फेला पारिएका दुवै जनालाई हातखुट्टा चलाउँदै गरेको अवस्थामा सिँचाइ पोखरीबाट उद्धार गरेर घरमा ल्याएको केही समयमा दुवै जनाको मृत्यु भएको वडा अध्यक्ष भूपालसिंह राईले जानकारी दिए।  

खानेपानीको मुहानसमेत रहेको उक्त स्थानमा सिँचाइका लागि पोखरी निर्माण गरिएको थियो। सुक्खाग्रस्त क्षेत्रमा पर्ने हलेसीस्थित च्यास्मिटारका स्थानीय बासिन्दा हिउँदको समयमा उक्त मुहानमा खानेपानी लिन जाने गरेका थिए।