क्यानडाले चिनियाँ विद्युतीय सवारी साधनमा शतप्रतिशत शुल्क लगाउने

अमेरिका र युरोपेली संघले हालैका महिनामा चिनियाँ ईभीमाथि क्रमशः शतप्रतिशत र ३८ प्रतिशत कर लगाएका छन्। 

तस्वीर: रोयटर्स।

क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सोमबार चिनियाँ विद्युतीय कार (ईभी) आयातमा शतप्रतिशत कर लगाउने घोषणा गरेका छन्। यो उत्तरी अमेरिकामा चिनियाँ राज्य–अनुदानित कारहरूको बाढीलाई रोक्ने अमेरिकी उपायसँग मेल खान्छ। 

विद्युतीय सवारी साधन को विश्वको सबैभन्दा ठूलो निर्यातकर्ता चीनमाथि वातावरणीय श्रम मापदण्डजस्ता क्षेत्रहरूमा ‘अन्य मुलुकजस्तै समान नियम पालना नगरेको’ आरोप लगाउँदै उनले चीनबाट आयात हुने स्टिल र आलुमिनियम उत्पादनमा पनि २५ प्रतिशत अतिरिक्त कर लगाइने बताए। 

अमेरिका र युरोपेली संघले हालैका महिनामा चिनियाँ ईभीमाथि क्रमशः शतप्रतिशत र ३८ प्रतिशत कर लगाएका छन्। 

क्यानडाको अटो निर्माण उद्योगले एक लाख २५ हजारभन्दा बढीलाई रोजगारी दिएको छ र ओटावाले ईभीमा आफ्नो संक्रमणलाई समर्थन गर्न तथा घरेलु विद्युतीय ब्याट्रीको आपूर्ति शृंखला बलियो बनाउन अर्बौं डलर लगानी गरेको छ। 

ओटावाले उसको महत्त्वपूर्ण खनिज उत्खनन क्षेत्रमा नयाँ चिनियाँ लगानीमाथि पनि रोक लगाएको छ।

“चिनियाँ ईभीको अत्यधिक उत्पादन र उसको अटो क्षेत्रका लागि राज्यको ठूलो अनुदानका कारण हामीले कारबाही गर्न आवश्यक छ,” क्यानडाको एटलान्टिक तटमा रहेको ह्यालिफ्याक्समा पत्रकार सम्मेलनमा प्रधानमन्त्री ट्रुडोले भने, “दौडमा तल जान नचाहेसम्म हामी उभिनुपर्छ र यही गरिरहेका छौँ।”