मुकुल ढकाललाई साधारण सदस्यबाट हटाउने रास्वपाको निर्णय

ढकाललाई पार्टी अनुशासन उल्लंघन गरेको आरोपमा दुई पटकसम्म स्पष्टीकरण सोधिएको थियो। 

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निलम्बित महामन्त्री डा. मुकुल ढकाललाई पार्टीको साधारण सदस्यबाट हटाएको छ।  

मंगलबार बिहान बसेको केन्द्रीय समिति बैठकले पार्टी अनुशासन आयोगको सिफारिसका आधारमा ढकाललाई पार्टीको साधारण सदस्य नरहनेगरि निष्कासन गरेको पार्टी सहप्रवक्ता मनिष झाले जानकारी दिए। 

“पार्टीका पूर्वमहामन्त्री डा. मुकुल ढकाललाई पार्टीको साधारण सदस्यबाट कारबाही गर्ने कि नगर्ने भन्ने छलफल भयो। पार्टीको अनुशासन आयोगले उहाँलाई कारबाही गर्ने भनेर गरेको सिफारिसको आधारमा साधारण सदस्यसमेत नरहनेगरि पार्टी नियम ५६ को उपनियम ३ बमोजिम र राजनीतिक दलसम्बन्धी ऐनका आधारमा निष्कासन गरेका छौँ,” उनले भने। 

पार्टी अनुशासन आयोगले ढकाललाई कारबाहीका लागि आवश्यक प्रमाणसहित साधारण सदस्यबाट पनि निकाल्नुपर्ने सिफारिस गरेको झाले बताए। 

पार्टीविरुद्ध लागेको भन्दै निलम्बनमा परेका महामन्त्री ढकाललाई रास्वपाले दुई पटकसम्म स्पष्टीकरण सोधेको थियो।