सेल्फी लिन खोज्दा २६२ फिट गहिरो खाल्डोमा खसेर स्टार खेलाडीको मृत्यु

साहसिक यात्रा गर्न रुचाउने २३ वर्षीया जिम्नास्ट स्टार खेलाडी नताली स्टिचोभा आफ्नो इन्स्टाग्राममा राख्नको लागि विभिन्न तस्वीर लिने गर्थिन्।

सेल्फी लिने क्रममा धेरैले आफ्नो ज्यान गुमाइसकेका छन्। अझै पनि मानिसहरू यस विषयमा गम्भीर हुन सकेका छैनन्। गत हप्ता मात्रै जर्मनीमा यस्तै अर्को दुःखद घटना घट्यो।

सेल्फी लिने क्रममा चेक गणतन्त्रकी २३ वर्षीया जिम्नास्ट स्टार खेलाडी नताली स्टिचोभाको पहाडबाट लडेर मृत्यु भयो। अगस्ट १५ मा जर्मनीको बाभेरियास्थित टेगेलबर्ग पहाडमा राम्रो सेल्फी खिच्ने क्रममा २६२ फिट गहिरो खाडलमा खसेकी थिइन्। तुरुन्तै उनलाई हेलिकप्टरबाट उद्धार गरेर अस्पतालमा भर्ना गरिएको थियो। तर ६ दिनसम्म उपचारपछि अगस्ट २१ मा उनको निधन भयो। अत्यधिक चोटपटकका कारण दिमागमा असर पुगेका कारण उनलाई बचाउन नसकिएको खबरमा उल्लेख छ।

घटना हुँदा उनीसँग उनका प्रेमी डेभिडसहित अन्य दुई साथी पनि थिए। उनीहरू साहसिक यात्राका लागि त्यस पहाडमा पुगेका थिए। प्रहरीले उक्त रुटलाई 'चुनौतीपूर्ण आरोहण' भनेर वर्णन गरेको छ। उनले आफ्नो इन्स्टाग्राममा राख्नको लागि विभिन्न तस्वीर लिने गर्थिन्। त्यो दिन पनि नियोचन्स्टेन कास्टललाई तस्वीरमा पार्ने गरी सेल्फी लिइरहेको र त्यहीबेला पहाडबाट खसेको उनीसँगै गएका उनका साथीले बताएका छन्। उनी चिप्लेर लडेकी हुन् या चट्टानको ढुंगा खसेर लड्न पुगेकी हुन् भन्नेबारे स्पष्ट नभएको ती साथीले डेली मेललाई बताएका छन्।

नताली आफ्नो देशको एक प्रख्यात एथलिट थिइन्। भर्खरै जुनियर खेलाडीहरूलाई प्रशिक्षण दिन थालेकी थिइन्। उनी सोकोल प्रिब्रम स्पोर्ट्स जिम्नास्टिक्समा रहेर काम गरिरहेकी थिइन्।

सोकोल प्रिब्रम स्पोर्ट्स जिम्नास्टिक्सले नतालीको निधनमा गहिरो समवेदना व्यक्त गर्दै उनले आफ्नो छोटो जीवनमा 'मुस्कान फैलाएको' भन्दै गहिरो समवेदना प्रकट गरेको छ।

नतालीकी आमाले पनि आफ्नी छोरी सबैभन्दा प्यारो मान्छे भएको र उनलाई माया गर्ने अनगिन्ती मानिसहरू रहेको बताइन्।