बजेट अभावले बागलुङमा पालिकास्तरीय २ अस्पताल अलपत्र

बजेट अभावले ढोरपाटन, खापाथरमा निर्माणाधीन नगर अस्पताल र निसीखोला, झिम्पामा बन्दै गरेको आधारभूत अस्पताल अलपत्र परेका छन्।

बागलुङ– बागलुङमा बजेट अभावले पालिकास्तरीय दुई अस्पताल अलपत्र परेका छन्। ढोरपाटन नगरपालिका–९ ढोरपाटन खापाथरमा निर्माणाधीन १० शय्याको नगर अस्पताल र निसीखोला गाउँपालिका–४ झिम्पामा बन्दै गरेको १० शय्याको आधारभूत अस्पताल अलपत्र परेका हुन्।

ढोरपाटनको नगर अस्पतालभन्दा निसीखोलाको आधारभूत अस्पताल एक वर्ष पहिला निर्माण शुरू गरिएको थियो। आधारभूत अस्पताल निर्माणका लागि विसं २०७८ माघ २० गते सम्झौता भएर काम शुरू भएको थियो। नगर अस्पताल विसं. २०७९ असार २४ गतेदेखि निर्माण थालिएको थियो।

विसं. २०८० पुसमा सम्पन्न गर्नेगरी निर्माण शुरू भएको आधारभूत अस्पताल हालसम्म ८५ प्रतिशत मात्रै काम सकिएको निर्माणको जिम्मा पाएको हिन्दुङ एसी आइएस जेबी कन्स्ट्रक्सनका प्रमुख दीपककुमार अदैले जनाकारी दिए।

गाउँपालिकाले १० करोड ९४ लाख रुपैयाँको लागत अनुमान गरेकामा निर्माण कम्पनीले आठ करोड २४ लाख रुपैयाँमा जिम्मा लिएको थियो। पछिल्लो दुई वर्ष बजेट नपरेपछि काम रोकिएको अदै बताउँछन्। यस अस्पतालको हालसम्म ८५ प्रतिशत काम सकिएको र अझै एक करोड ७० लाख रुपैयाँ बजेट अपुग भएको उनको भनाइ छ।

निसीखोला आधारभूत अस्पताल निर्माणका लागि चार वर्षअगाडि गाउँपालिकाले सात रोपनी दुई आना जग्गा निःशुल्क व्यवस्थापन गरेको थियो। ढोरपाटन नगर अस्पतालको काम सोही निर्माण कम्पनीले जिम्मा पाएको थियो।

नगर अस्पतालमा बजेट नआउँदा गत सालदेखि नै काम ठप्प भएको छ। निर्माण कम्पनीले गत वर्ष भदौमै नगरपालिकामा ६ करोड ६१ लाख रुपैयाँको बिल बुझाए पनि अहिलेसम्म रकम नआउँदा काम गर्न नसकेको अदै बताउँछन्।

अस्पातलको भवन निर्माणका लागि १२ करोड ९६ लाख रुपैयाँमा जिम्मा लिएको अदैको भनाइ छ। काम गर्नुभन्दा पहिले शुरूमा पेस्की रकम दुई करोड ४६ लाख रुपैयाँ मात्रै आएको उनले बताए।

भौगोलिक हिसाबले ढोरपाटन टाढा र सडक पनि निकै साँघुरो तथा अप्ठ्यारो हुँदा ढुवानी र कामदारका लागि बढी खर्च भएको अदै बताउँछन्।

विसं. २०८२ असार २३ सम्ममा निर्माण सक्नुपर्ने अस्पताल भवन करिब आधा सकिँदा पनि काम अनुसारको भुक्तानी नभएको गुनासो उनले गरे। अहिले बजेट नै नपरेको उनको भनाइ छ।

ढोरपाटनका उपप्रमुख धनबहादुर कायतले नगरपालिकाको बजेटले अस्पताल निर्माण गर्न नसक्ने हुँदा अर्थ र स्वास्थ्य मन्त्रालयमा बजेट व्यवस्थानका लागि पत्र पठाएको बताए।

उनले निर्माण कम्पनीलाई काम गरेकै ६ करोड रुपैयाँ बढी रकम भुक्तानी गर्न बाँकी रहेको भन्दै त्योसहित थप बजेट केन्द्र सरकारले व्यवस्थापन नगरेसम्म काम अगाडि बढ्ने स्थिति नरहेको बताए।