चुनिए एकीकृत समाजवादीका १८ पदाधिकारी

वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध भएका छन्। महिला उपाध्यक्षमा रामकुमारी झाँक्रीलाई पराजित गर्दै जयन्ती राई निर्वाचित भएकी छन्।

काठमाडौँ– एकीकृत समाजवादीको १८ जना पदाधिकारीका लागि भएको निर्वाचनको परिणाम सार्वजनिक भएको छ ।

वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे मंगलबार नै सर्वसम्मत चुनिएका थिए। अरू पदमा मतदान भएको थियो। अन्तिम परिणामअनुसार महिला उपाध्यक्षमा जयन्ती देवी राई निर्वाचित भएकी छन्। उनले रामकुमारी झाँक्रीलाई हराएकी हुन्। राई यसअघि पनि उपाध्यक्ष थिइन्। 

मत परिणाम अनुसार खुल्ला उपाध्यक्षमा डा. गंगालाल तुलाधर, जगन्नाथ खतिवडा, भानुभक्त जोशी र प्रकाश ज्वाला तथा मधेशी उपाध्यक्षमा धर्मनाथ प्रसाद शाह विजयी भए।   

यसैगरी, उपमहासचिवमा खुलातर्फ गरिमा शाह, राजेन्द्र राई, रामकुमार भट्टराई र मेटमणि चौधरी निर्वाचित भए।

सचिवमा दलिततर्फ गणेश बिक, आदिवासी जनजातितर्फ बलदेव चौधरी तथा खुलातर्फ श्रीनाथ बराल, साबित्रा भुसाल, शेरबहादुर कुँवर, सोमप्रसाद पाण्डे र चन्द्रबहादुर शाही विजयी भए। 

एकीकृत समाजवादीको गत असारमा काठमाडौँमा भएको दशौँ महाधिवेशनले अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाललाई सर्वसम्मत चयन गरेको थियो।

पदाधिकारीका लागि मंगलबार निर्वाचन भएको थियो। मतगणना राति भएको थियो।