थासाङ हिउँपहिरोः बग्न थाल्यो थुनिएको बोक्सीखोला

मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित मुलखर्कबाट बोक्सीखोला क्षेत्रमा हिउँपहिरोले थुनिएको खोला करिब १३ घण्टापछि बग्न थालेको हो।

म्याग्दी– धवलागिरि हिमशृंखलाको मानापाथी हिमालबाट मंगलबार साँझ खसेको हिमपहिरोले पूर्ण रूपमा थुनिएको मुस्ताङको थासाङ गाउँपालिकामा रहेको बोक्सीखोला बग्न थालेको छ ।

मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित मुलखर्कबाट बोक्सीखोला क्षेत्रमा हिउँपहिरोले थुनिएको खोला करिब १३ घण्टापछि बग्न थालेको हो। थासाङ–२ का वडाध्यक्ष गौतम शेरचनले बुधबार बिहानदेखि खोला बग्न थालेको बताए। 

“मंगलबार साँझ ५ः४५ बजेतिर खसेको हिउँपहिरो थुप्रिएर बोक्सी खोला पूरै सुकेको थियो,” उनले भने, “सामान्य अवस्थाको तुलनामा आधा जति बगेको खोलामा बिस्तारै पानीको मात्रा बढ्दै गएकाले तटीय क्षेत्रमा सतर्कता अपनाएका छौँ।”

खोँचमा थुप्रिएको हिउँलाई खोलाको पानीले पगालेर बग्न थालेको शेरचनले बताए। तटीय क्षेत्रका नौवटा घरलाई राति सुरक्षित ठाउँमा सारिएको थियो। पाखो र खोला किनारमा थुप्रिएको हिउँ पहिरोले मानवीय र भौतिक क्षति नगरेको थासाङ गाउँपालिका–२ का वडा सदस्य भीमप्रसाद थकालीले बताए। 

बोक्सीखोलाको मूलखर्कदेखि तल करिब एक किलोमिटरसम्म हिउँपहिरो थुप्रिएको छ। सो ठाउँमा भदौ ७ गते दिउँसो पनि हिउँ पहिरो खसेको थियो। हिउँ पहिरोले थुनिएको बोक्सीखोला तीन घण्टापछि बग्न थालेको थियो। यसअघिकै हिउँको थुप्रो पग्लिएर नसकिँदै पुनः पहिरो आएर हिउँ थपिएको हो।

बोक्सीखोला कालीगण्डकीको सहायक खोला हो। तीनवटा ठाडो खोला मिसिएर बोक्सीखोला बग्ने गर्छ। आसपासमा बस्ती नभए पनि बेनी–जोमसोम सडक बोक्सीखोलामा पर्छ। हिउँ बिस्तारै पग्लिने भएकाले जोखिम कम हुने अनुमान गरिए पनि पूरै नपग्लिँदासम्म तटीय क्षेत्रमा सतर्कता अपनाउनुपर्ने प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताए। 

यसअघि २०७८ कात्तिक २८ र फागुन २१ गते थासाङ गाउँपालिका–२ कोवाङमा टुकुचे हिमालबाट आएको हिमपहिरोले १५० भन्दा बढी चौँरीगाई मरेका थिए।