भौतिक संरचनाले कुरुप बन्दै पर्यटकीयस्थल मझुवागढी

चारैतिर हरियाली जंगलले घेरिएको मझुवागढीमा घुमफिर गर्न, वनभोज खान, अध्ययन भ्रमण गर्न, साहित्यिक तथा सांगीतिक कार्यक्रमका लागि मानिसहरू पुग्ने गरेका छन्।

खोटाङ– जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट करिब ४५ मिनेटको पैदलयात्रा गरेर उकालो चढ्दा धार्मिक एवं पर्यटकीयस्थल मझुवागढी पुगिन्छ। उक्त स्थानमा किरात ऐतिहासिकस्थल मझुवागढी तथा हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र बुद्धेश्वर गुफा र कालिका भगवती देवीको मन्दिर छ।

चारैतिर हरियाली जंगलले घेरिएको मझुवागढीमा घुमफिर गर्ने, वनभोज खाने, अध्ययन भ्रमण गर्ने, साहित्यिक तथा सांगीतिक कार्यक्रम गर्न व्यक्ति तथा समूह पुग्ने गरेका छन्। प्राकृतिक रूपमै अग्लो डाँडामा रहेको मझुवागढीमा १८०४ सालसम्म राजा रणवीर हाङले राज्य गरेका थिए। किरात ऐतिहासिकस्थल मझुवागढीको उत्तरी दिशामा बारुद ढुंगा र हतियार निर्माण गर्ने भट्टी रहेको छ। गढीको पूर्वमा फूलपातीडाँडा, राँगा आहाल र दमाहा ढुंगा रहेको छ। त्यस्तै, गढीको बीचभागमा मौली रहेको छ।

तत्कालीन समयमा रणवीर राजाका रैतीहरूले दसैँ मान्नका लागि ल्याएका राँगा बोका राख्ने ठाउँलाई मौली भन्ने गरिन्थ्यो। मौलीभन्दा अलिक अगाडि पूजाआजा गर्ने ठाउँ छ। यसको केहीमाथि राजाको दरबार र कोट गार्ड (सुरक्षाकर्मी) बस्ने ठाउँ छ। गढीको दक्षिण दिशामा तारा खसेको ठाउँ छभने गढीवरिपरि बंकर घेरासमेत रहेको छ। मझुवागढीको केही तल कालिका भगवती मन्दिर छ। भगवती मन्दिरमा दैनिकजसो बाख्राको पाठी बलि दिने गरिन्छ।

बुद्धेश्वर गुफामा रामनवमी, बालाचतुर्दशी, शिवरात्रि, हरितालिका तिजलगायत चाडपर्वमा ठूलो मेला लाग्ने गर्दछ। धार्मिक तथा पर्यटकीयस्थल मझुवागढीमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको संख्या वृद्धि हुँदै गएको छ। मझुवागढीमा हरेक वर्षको उँभौली र उँधौली चाड अर्थात् वैशाखे र मंसिरे पूर्णिमामा तीन चुल्हाको पूजा गर्दै साकेला नाच्ने गरिन्छ। मझुवाको अर्थ माझ अर्थात् बीच भन्ने बुझिन्छ। मझुवागढीको पश्चिम दिशामा महुरेगढी, हाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा पर्छ। 

त्यस्तै, पूर्वमा चुइचुम्मागढी दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खामा पर्छ भने दक्षिणमा खाम्तेल गढी हाल हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीमा पर्दछ। चारैतिर गढी नै गढीले घेरिएको मझुवागढी बीचमा पर्ने भएकाले उक्त ठाउँको नाम मझुवागढी भनिएको जानकार बताउँछन्। दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल, वडा नं ४ खाल्ले र वडा नं ५ लफ्याङको सिमानामा पर्ने मझुवागढी पछिल्लो समय कुरूप बन्दै गएको छ। प्राकृतिक रूपमै पर्यटकीय क्षेत्र रहेको मझुवागढीलाई पर्यटन प्रवर्द्धनको नाममा अनावश्यक भौतिक संरचना निर्माण गर्दा कुरूप बन्दै गएको हो। 

धार्मिक तथा पर्यटकीय क्षेत्रको संरक्षण गर्नुपर्नेमा त्यसलाई असर गर्नेगरी भौतिक संरचना बनाएर अनुत्पादक क्षेत्रमा लगानी गरेको जनाउँदै आलोचना शुरू भएको छ। कोशी प्रदेश सरकार तथा नगरपालिकाको साझेदारीमा कालिका भगवती देवीको मन्दिरभन्दा केही तल अवस्थित बुद्धेश्वर गुफा नजिकै सिमेन्टको कंक्रिट प्रयोग गरेर भौतिक संरचना निर्माण गरेपछि  आलोचना भएको हो। 

समपूरक अनुदानअन्तर्गत कोशी प्रदेशको ६५ प्रतिशत र नगरपालिकाको ३५ प्रतिशत गरी एक करोड ३६ लाख ८४ हजारमध्ये ९६ लाख ६६ हजार २८९ लागतमा ठेक्कामार्फत बुद्धेश्वर गुफा अगाडि टावर निर्माण गरिएको छ। निर्माणाधीन टावरका लागि २०८१ असार २४ गतेसम्म सक्नेगरी निर्माण कम्पनीले २०८० माघ ९ गते सम्झौता गरेको थियो। 

निर्माणाधीन आयोजनाको ७५ लाख ७ हजार ४९६ भुक्तानी भएको नगरपालिकाका सूचना अधिकारी मोहनकुमार भट्टराईले जानकारी दिए। मझुवागढी सौन्दर्यकरणका चालु आर्थिक वर्षमा पनि कोशी प्रदेश सरकारले एक करोड रकम विनियोजन गरेको नगरपालिकाले जनाएको छ।

अघिल्लो स्थानीय सरकारले विभिन्न ठाउँमा टावर, आँखा पोखरी, देवीथानलगायत अन्य अनुत्पादक क्षेत्रमा लगानी गरेको र वर्तमान स्थानीय सरकारले पनि बुद्धेश्वर गुफा अगाडि टावरलगायत संरचना निर्माण गरेको उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष राजु लयालुले बताए। “सम्पदा नै संकटमा पर्नेगरी टावर बनाइएको छ। टावर बन्दैमा पर्यटन प्रवर्द्धन हुन्छ भन्ने धारणा गलत हो। त्यसमाथि पनि सिमेन्टको कंक्रिट प्रयोग गरेर बनेको संरचना बनाइएको छ। त्यो अझै गलत हो,” उनले भने। 

प्राकृतिक संरचना भत्काउनुअघि पुरातात्त्विक विभागसँग अनुमति लिनुपर्नेमा नगरपालिकाले यस विषयमा नगरपालिकाले चासो नदिएको उनको भनाइ छ। “अहिले बनेका संरचनाले पुस्तौँसम्म असर गर्छ,” उनले भने। मझुवागढी आसपासका क्षेत्रमा भ्युटावर, धर्मशाला, प्रतिक्षालय, खानेपानीको ट्यांकीलगायत करोडौँका संरचना निर्माण भइरहेका छन्। दिक्तेलबजारस्थित हाटडाँडाबाट नै सिमेन्ट र बालुवा प्रयोग गरेर कंक्रिटको पदमार्ग निर्माण गरिएका छन्। 

नगरप्रमुख तीर्थराज भट्टराईले भने पर्यटकलाई आकर्षित गर्न मझुवागढी आसपासका क्षेत्रमा भौतिक संरचना बनाइएको दाबी गरेका छन्। “सुविधासम्पन्न भौतिक संरचना निर्माण गर्नु अनुत्पादक क्षेत्रमा लगानी गर्नु होइन,” उनले भने, “निर्माणाधीन संरचना सञ्चालनमा आएपछि आन्तरिक तथा बाह्य पर्यटक आउने र नगरको आन्तरिक आम्दानीको स्रोत वृद्धि हुने भएकाले अनुत्पादक भन्न मिल्दैन।”

मझुवागढी क्षेत्र किरात ऐतिहासिकस्थल तथा धार्मिक पर्यटकीय क्षेत्र भएकाले संवेदनशील भएर संरचना बनाउनुपर्ने जिल्लावासीको सुझाव छ। तर, नगरपालिकाले प्राकृतिक संरचना भत्काउनुका साथै करोडौँ रकम खर्चेर सिमेन्टको कंक्रिट तथा फलामे डन्डी र जस्तापाता प्रयोग गरेर धमाधम भौतिक संरचना निर्माण गरिरहेको छ।