झिनो अंकले बढ्यो नेप्से, १३ अर्बको कारोबार

अघिल्ला दुई कारोबार दिन उच्च अंकले घटेको नेप्से आज भने ३.८० अंकले बढेर २७८६.४० को विन्दुमा पुगेको छ।

काठमाडाैँ– बुधबार नेप्से परिसूचक झिनो अंकले बढेर बन्द भएको छ। अघिल्ला दुई कारोबार दिन उच्च अंकले घटेको नेप्से आज भने ३.८० अंकले बढेर २७८६.४० को विन्दुमा पुगेको छ।

नेप्से बढे पनि यस दिन कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार १८ अर्ब ६४ करोडको शेयर खरिदबिक्री भएको बजारमा आज ३२६ स्टकको १ लाख ६८ हजार १७५ पटकको कारोबारमा १३ अर्ब ७२ करोड ७३ लाख रुपैयाँ बराबरको ३ करोड ५० लाख ७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज १३ मध्ये ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ। लगानी उपसमूहको परिसूचक सर्वाधिक १.०१ प्रतिशत बढेको छ। अन्य उपसमूहहरूको वृद्धिदर भने १ प्रतिशतभन्दा कम रहेको छ। आज वित्त उपसमूहको परिसूचक सर्वाधिक १.६९ प्रतिशतले घटेको छ। त्यस्तै, लघुवित्त र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेको छ।

तीन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। लिबर्टी इनर्जी, हिमालयन हाइड्रोपावर र मिड सोलु हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको हो। त्यस्तै, आत्मनिर्भर लघुवित्त र माई खोला हाइड्रोपावरको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ। कारोबारमा आएको कर्णाली विकास बैंकको शेयरमूल्य सर्वाधिक ६.८८ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा चन्द्रागिरि हिल्स ४३ करोड ७ लाख रुपैयाँ बराबरको कारोबारसहित शीर्ष स्थानमा रहेको छ। त्यस्तै, नेपाल फाइनान्सको साढे ४१ करोडको तथा हिमालयन रि इन्स्योरन्सको ३८ करोडको कारोबार भएको छ।