साफ यू२० च्याम्पियनसिप: फाइनलमा बांग्लादेशसँग नेपाल पराजित

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको फाइनलमा घरेलु टोली नेपाललाई ४–१ ले पराजित गर्दै बांग्लादेशले उपाधि हात पारेको हो।

काठमाडौँ– साफ यू२० च्याम्पियनपसिप फुटबल प्रतियोगिताको उपाधि बांग्लादेशले जितेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको फाइनलमा घरेलु टोली नेपाललाई ४–१ ले पराजित गर्दै बांग्लादेशले उपाधि हात पारेको हो। यसअघि सन् २०१५ र १०१७ साफ च्याम्पियनसिपको उपाधि जितेको नेपाल यसपटक ह्याट्रिक गर्नबाट चुकेको छ।

उमेरसमूहको प्रतियोगितामा बांग्लादेशले जितेको यो पहिलो उपाधि हो। 

खेलको ९औँ मिनेटमा नेपालले पहिलो गोल गर्ने अवसर गुमायो। निराजन धामीको उत्कृष्ट प्रहार बांग्लादेशका गोलकिपर मोहमद आसिफले बचाउ गरे। त्यसपछि पहिलो हाफको अन्त्यतिर त्यो माैका बांग्लादेशले लियो। नेपाली डिफेन्डर राम थापाले खराब ट्याकल गर्दै मिराजुल इस्लामलाई पेनाल्टी बक्सबाहिर लडाएका थिए। त्यसपछि प्राप्त फ्रिककमा मिराजुलले प्रहार गरेको बल बारमा लागेर गोलमा परिणत भयो।

मिराजुलले नै ५५औँ मिनेटमा हेडिङमार्फत बललाई जाली चुमाउँदै बांग्लादेशको अग्रता दोब्बर बनाए। ७१औँ मिनेटमा रब्बी हुसेनले बांग्लादेशका लागि तेस्रो गोल गरे। त्यसको १० मिनेटमा समीर तामाङले गोल गर्दै नेपाललाई १–३ को अवस्थामा ल्याए। तर, इन्जुरी समयको छैटौँ मिनेटमा नोभाले गोल गर्दै बांग्लादेशको फराकिलो जित पक्का गरे।