गाजाको सुरुङबाट एक बन्धकको उद्धार, के भन्छन् उनी?

हमासको आक्रमणको क्रममा पक्राउ परेका ५२ वर्षीय एक बन्धकलाई इजरायली सेनाले मंगलबार गाजास्थित सुरुङबाट उद्धार गरेको छ।

हमासको आक्रमणको क्रममा पक्राउ परेका एक बन्धकलाई मंगलबार गाजास्थित एक सुरुङबाट उद्धार गरिएको इजरायली सेनाले जनाएको छ।

इजरायली सेनाले ५२ वर्षीय काइद फरहान अल्कादीलाई दक्षिणी गाजाको एउटा सुरङमा एक्लै रहेको अवस्थामा फेला पारी उद्धार गरेको जनाएको छ। गत अक्टोबरमा हमासले दक्षिणी इजरायलमा आक्रमण गरेर अपहरणमा परेका २५१ जनामध्ये अल्कादी पनि एक हुन्। बन्धकमध्ये १०४ जना अझै पनि गाजामा बन्दी छन् भने ३४ जनाको मृत्यु भइसकेको सेनाले जनाएको छ। 

इजरायलको दक्षिणी शहर राहात नजिकैको बेदुइन समुदायका अल्कादी गाजा सीमाबाट करिब ५ किलोमिटर टाढा रहेको किबुत्ज म्यागेनमा रहेको प्याकिङ फ्याक्ट्रीमा गार्डको रूपमा काम गरिरहेका थिए। त्यहीँबाट उनलाई हमासले अपहरण गरेको थियो।

अल्कादीले आफ्नै अगाडि एक जना बन्धकले ज्यान गुमाएको बताए। "दुई महिनासम्म उनीसँगै रहेका बन्धकहरूमध्ये एकको उनको छेउमा मृत्यु भएको रहेछ," उद्धारपछि फरहानसँग कुरा गरेका राहतका पूर्वमेयरले च्यानल १२ न्युजलाई भने। उनी मुस्लिम समुदायका हुन्। तर अपहरणकारीले आफूलाई मुस्लिमको रूपमा नभई आम इजरायली बन्धक जस्तै व्यवहार गरेको र आफूले बिरलै सूर्य देख्न पाएको उनले बताए। 

इजरायली सेनाहरू नजिक आउँदा अपहरणकारीहरू भागेका पनि उनले बताए। बन्धक बनेपछिका ३२६ दिनमा आफूले धेरैजसो रोटी खाएको र गाजामा बन्धक भएकाहरू निकै पीडामा रहेको उनको भनाइ छ।

उद्धारपछि राष्ट्रपति आइज्याक हर्जोगले उनीसँग फोनमा कुरा गरेका थिए। उक्त कुराकानीमा उनले भने, "बन्धक बनाइएकाहरू त्यहाँ पीडामा छन्, तपाईं कल्पना पनि गर्न सक्नुहुन्न, सबैको चाँडो उद्धार गर्नूस्।"

उनको स्वास्थ्य अवस्था सामान्य रहेको उनलाई राखिएको सोरोका मेडिकलका निर्देशक श्लोमी कोदेशले बताए। यद्यपि, लामो समयसम्म सुरुङमा रहेका व्यक्तिहरू स्वास्थ्य समस्याको जोखिममा हुनसक्ने आँकलनसहित अल्कादीलाई ‘निरन्तर मूल्यांकन’का लागि राखिएको उनको भनाइ छ।

गाजा युद्धविराम र बन्धक मुक्तिको सम्झौता सुरक्षित गर्ने उद्देश्यले कतारमा वार्ता जारी रहेको छ तर इजरायल र  हमास कसैले पनि सहभागिताको निरन्तरता पुष्टि गरेका छैनन्। 

युद्धका कारण गाजा ध्वस्त भएको छ, त्यहाँका लगभग २४ लाख मानिशहरूमा मानवीय संकट छाएको छ। इजरायलले अहिले पनि गाजामा आक्रमण जारी राखेको छ।