जापानमा निजामती कर्मचारीको उच्चशिक्षा अध्ययनसम्बन्धी सम्झौतामा हस्ताक्षर

जापानले नेपालको निजामती सेवाका कर्मचारीलाई त्यहाँका विश्वविद्यालयमा उच्चशिक्षा अध्ययन गर्न करिब जापानी येन ४५ करोड ४० लाख छात्रवृत्ति सहयोग गर्ने भएको छ।

काठमाडौँ– जापानले नेपालको निजामती सेवाका कर्मचारीलाई त्यहाँका विश्वविद्यालयमा उच्चशिक्षा अध्ययन गर्न करिब जापानी येन ४५ करोड ४० लाख (अनुमानित ४२ करोड २३ लाख रुपैयाँ) छात्रवृत्ति सहयोग गर्ने भएको छ।

अर्थ मन्त्रालयमा बुधबार सोसम्बन्धी सम्झौतापत्रमा अर्थसचिव डा रामप्रसाद घिमिरे र नेपालका लािग जापानी राजदूत किकुता युताकाले सहयोगसम्बन्धी नोट आदानप्रदान गरे। सो अवसरमा अर्थमन्त्रालयका सहसचिव एवं अन्तर्राष्ट्रिय आर्थिक समन्वय महाशाखाका प्रमुख धनीराम शर्मा र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) नेपालका प्रमुख प्रतिनिधि मात्सुजाकी मिजुकीले अनुदान सहायतासम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका थिए।

सम्झौतासँगै निजामती सेवाका युवा कर्मचारीलाई जापानको विश्वविद्यालयमा दुईवर्षे स्नातकोत्तर र तीनवर्षे विद्यावारिधि अध्ययन गर्नका निम्ति छात्रवृत्ति सहयोग प्राप्त हुनेछ। ‘मेरिट’का आधारमा निजामती सेवाका कर्मचारीमध्येबाट इच्छुक कर्मचारी अध्ययनका लागि जापान जानेछन्। यस वर्ष २० जना स्नातकोत्तर र दुई जना विद्यावारिधि गरी २२ कर्मचारीलाई छात्रवृत्ति प्रदान गरिने सो अवसरमा जानकारी दिइयो।

जापान सरकारको सहयोगमा त्यहाँका मानव संसाधन विकास छात्रवृत्ति कार्यक्रम  (जेडीएस)अनुसार सन् २०१६ देखि नेपालले यो अवसर पाइरहेको छ। हालसम्म १८७ निजामती सेवाका अधिकारीले छात्रवृत्ति प्राप्त गरिसकेका छन्।

सो अवसरमा अर्थ सचिव घिमिरेले छात्रवृत्ति कार्यक्रमले नेपालको निजामती सेवाका कर्मचारीको क्षमता अभिवृद्धि हुने र यसबाट सिंगो मुलुक लाभान्वित हुने विश्वास व्यक्त गरे। नेपालका लागि जापानी राजदूत किकुताले नेपालका निजामती सेवाका कर्मचारीलाई दक्ष बनाउन छात्रवृत्ति कार्यक्रमले सहयोग गर्ने विश्वास व्यक्त गरे।