ईयूसँग सम्बन्ध सुधार्ने प्रयासमा बेलायत, प्रधानमन्त्री स्टार्मरले भेटे जर्मन चान्सलर

ब्रेक्जिटपछि यो भेट बेलायत र युरोपेली संघ (ईयू)बीचको सम्बन्ध सुधारका लागि महत्त्वपूर्ण मानिएको छ।

बेलायती प्रधानमन्त्री केयर स्टार्मर जर्मनीका चान्सलर ओलाफ स्कोल्जलाई भेट्न बुन्डेसकान्जलेरमट पुगेका छन्। स्टार्मर मंगलबार राति बर्लिन पुगेका थिए। त्यहाँबाट उनी सिधै चान्सलर निवास बुन्डेसकान्जलेरमट पुगेर भेटवार्ता गरेका हुन्।

रोयटर्सका अनुसार मिलिटरी ब्यान्डले स्टारमरलाई 'गड सेभ द किंग' गीत गाएर स्वागत गरेको थियो। ब्रेक्जिटपछि यो भेट बेलायत र युरोपेली संघ  (ईयू)बीचको सम्बन्ध सुधारका लागि महत्त्वपूर्ण मानिएको छ। बेलायत युरोपेली संघको सदस्य बनेको ४७ वर्षपछि सन् २०२० जनवरी ३१ मा बाहिरिएको थियो। त्यसअघि बेलायतले ईयूमा रहने कि अलग्गिने भनेर २०१६ मा जनमत संग्रह नै गरेको थियो।

स्टार्मरको कार्यकालको दुई महिनाभन्दा कम अवधिमा जर्मन चान्सलरसँगको यो पाँचौं भेट हो। डाउनिङ स्ट्रिट (ब्रिटिश प्रधानमन्त्रीको निवास)ले यस भेटलाई बेलायत र युरोपबीचको सम्बन्धमा 'रिसेट' गर्ने प्रयासको रूपमा अर्थ्याएको छ।

"हामीसँग युरोपसँगको हाम्रो सम्बन्धलाई पुनस् स्थापित गर्ने र बेलायती जनताका लागि वास्तविक, महत्वाकांक्षी साझेदारीको लागि प्रयास गर्ने एउटा पुस्ताको अवसर छ," स्टार्मरले भने, "हामीले अघिल्लो सरकारले छोडेको सम्बन्धलाई सुधार गर्नुपर्छ।"

यस भेटमा दुई देशका नेताहरूले युक्रेनलाई बढ्दो सहयोग, रक्षा र सुरक्षा सहयोग र गैरकानूनी आप्रवासनविरुद्ध संयुक्त कारबाहीका बारेमा छलफल गर्ने अपेक्षा गरिएको छ।