२० वर्ष पुगेर विवाह गर्ने महिलालाई १० हजार

कालीकोटकाे खाँडाचक्र नगरपालिका–१ ले २० वर्ष पुगेर विवाह गर्ने दलित महिलालाई १० हजार रुपैयाँ प्रदान गर्ने भएको छ। 

तस्वीर : खाँडाचक्र नगरपालिका

कालीकोट– खाँडाचक्र नगरपालिका–१ ले २० वर्ष पुगेर विवाह गर्ने दलित महिलालाई १० हजार रुपैयाँ प्रदान गर्ने भएको छ।  वडाले बालविवाह न्यूनीकरण गर्न यस्तो याेजना ल्याएकाे हाे। 

उमेर पुगेर विवाह गर्ने दलित समुदायका महिलालाई १० हजार नगद दिने निर्णय भएकाे वडाध्यक्ष धर्मराज ताम्राकारले जानकारी दिए। “हामीले उमेर पुगेर विवाह गर्ने किशोरीलाई पुरस्कार दिने निर्णय गरेका छौँ”, उनले भने, “यसले बालविवाह न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने विश्वास लिएका छौँ।”

विशेषगरी विद्यालयस्तरमा र बालविवाहबारे चेतना जगाउने खालका कार्यक्रमलाई नगरपालिकाले अगाडि बढाएको उपमेयर गणेशबहादुर शाहीले बताए। “अहिले उमेर पुगेपछि विवाह गर्ने किशोरीलाई एउटा वडामा मात्रै पुरस्कार दिने निर्णय गरेका छौँ”, उनले भने, “सबै वडामा यो कार्यक्रम लागू गर्ने योजना छ।”

वडाकाे निर्णयले बालविवाह घटाउन सहयाेग पुग्ने बालविवाहविरुद्धको साझा अभियान कालीकोटका संयोजक खडानन्द अधिकारीकाे भनाई छ। “यहाँ बालविवाह गर्ने दर उच्च छ। वडाले पुरस्कार दिँदा न्यूनीकरण हुन्छ भन्ने विश्वास छ”, उनले भने, “याे अभियानलाई जिल्लाभर लैजान जरुरी छ।”