मध्यभोटेकोशीको प्रसारण लाइन निर्माणमा सहमति

२२० केभी सिंगल सर्किट प्रसारण लाइनका लागि १३ वटा टावर निर्माण गरिएको थियो। तर, बाह्रबिसे–३ र ४ स्थित पलाँतीका स्थानीयको अवरोधका कारण आयोजनाले दुई किलोमिटर तार तान्न सकिरहेको थिएन।

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकमा निर्माणाधीन १०३ मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माण अगाडि बढाउने सहमति जुटेको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, राज्यमन्त्री पूर्णबहादुर तामाङ, सिन्धुपाल्चोक–२ का प्रतिनिधिसभा सदस्य मोहनबहादुर बस्नेत, मन्त्रालयका सहसचिव सन्दीपकुमार देव, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, बाह्रबिसे नगरपालिका प्रमुख बालकृष्ण बस्नेतसहितका सरोकारवाला र आयोजनाबीच बुधबार भएको छलफलमा सहमति जुटेको हो। 

बाह्रबिसे नगरपालिका–५ स्थित आयोजनाको विद्युत्‌गृहको स्वीचयार्डबाट सोही नगरपालिका–३ स्थित प्राधिकरणको बाह्रबिसे सबस्टेसन जोड्ने करिब चार किलोमिटर प्रसारण लाइनमध्ये दुई किलोमिटर निर्माणमा १४ महिनादेखि स्थानीय बासिन्दाको अवरोध थियो।

२२० केभी सिंगल सर्किट प्रसारण लाइनका लागि १३ वटा टावर निर्माण गरिएको थियो। तर, बाह्रबिसे नगरपालिका–३ र ४ स्थित पलाँतीका स्थानीयको अवरोधका कारण आयोजनाले दुई किलोमिटर तार तान्न सकिरहेको थिएन। उक्त दुई किलोमिटरमा पर्ने प्रसारण लाइनको मार्गधिकार (राइट अफ वे)मा १२४ जना जग्गाधनीको जग्गा पर्छ।

छलफलमा आयोजनाले संस्थापक सामाजिक उत्तरदायित्व (सीएसआर)अन्तर्गत नगरपालिकामार्फत बाह्रबिसे नगर अस्पताललाई आर्थिक सहयोग उपलब्ध गराउने सहमति भएको छ। आयोजनाको प्रभावित क्षेत्रअन्तर्गत बाह्रबिसे नगरपालिका–३ र ४ वडालाई पनि समावेश गराई अन्य प्रभावित क्षेत्रलाई जस्तै विकास निर्माण कार्यका लागि सहायता उपलब्ध गराउने, प्रसारण लाइनको मार्गधिकार पर्ने जग्गा तथा संरचनाको उचित क्षतिपूर्ति उपलब्ध गराउने सहमति भएको छ। यसैगरी, प्रसारण लाइनको बाँकी रहेको निर्माण तत्काल शुरू गर्ने सहमति जुटेको छ।

मन्त्री खड्काले निर्माण सम्पन्न भइसकेको मध्यभोटेकोशी जलविद्युत आयोजनाको प्रसारण लाइन निर्माणमा जारी अवरोध खुलाउन महत्त्वपूर्ण सहमति भएको बताए। 

मध्यभोटेकोशी जलविद्युत् आयोजनाबाट उत्पादन शुरू भएपछि सोही विद्युत् प्रयोग गरी बाह्रबिसे सबस्टेसनलाई चार्ज गरिनेछ। आयोजनाको संरचना तथा उपकरण परीक्षणका क्रममा पानी हाल्दा सुरुङ चुहिएको थियो। हाल सुरुङको मर्मत र सुधार सकिएको छ।

आयोजनाबाट असोजभित्र विद्युत् उत्पादन  शुरू गर्ने लक्ष्यका साथ बाँकी काम भइरहेका छन्। मध्यभोटेशीको विद्युत् प्रवाहका लागि अस्थायी रूपमा वैकल्पिक व्यवस्था गरिएको छ।